काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) विरुद्धको भ्याक्सिन खोप बनाउनका लागि अमेरिका, रुसलगायत लगायत थुप्रै देश जुटिरहेका छन्।
यसैबीच कोरोना भाइरसको उद्गम स्थल मानिएको चीनले कोरोना विरुद्धको भ्याक्सिन प्रयोगमा ल्याउन थालेको समाचारहरु सार्वजनिक भएका छन्।
चीनले आपत्कालीन प्रयोगका लागि कोभिड–१९ भ्याक्सिन प्रयोगमा ल्याउन थालेको दाबी गरेको हो।
एक जना चिनियाँ उच्च स्वास्थ्य अधिकारीले शनिबार बेइजिङमा घरेलु कम्पनीबाट त्यस्तो भ्याक्सिन प्रयोगमा ल्याएको बताएका हुन् ।
चिनियाँ कोभिड–१९ भ्याक्सिन डेभलपमेन्ट टास्क फोर्सका प्रमुख एवं चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी चङ् चोङवेइले चिनियाँ भ्याक्सिन म्यानेजमेन्ट कानुनको समन्वयमा त्यो भ्याक्सिन आपत्कालीन प्रयोगमा ल्याइएको बताए।
उनले भने, ‘कोरोनाको सम्पर्कमा रहने उच्च खतरा भएका मानिसहरू जस्तै स्वास्थ्यकर्मी, फ्रन्टलाइनका महामारी नियन्त्रकहरू र भन्सार कर्मचारीहरूमा प्रयोग गर्न कानुनी अनुमति प्राप्त भएको छ।’
शनिबार राति चिनियाँ केन्द्रीय टेलिभिजन (सीसीटिभी)मा बोल्दै चङ्ले आपत्कालीन प्रयोगका लागि आवेदनबमोजिम व्यापक बहस र मूल्यांकनपछि चीनको केन्द्र सरकारले जुन २४ तारिखमा योजनालाई अनुमोदन गरेर जुलाई २२ तारिखदेखि कोरोना खोप प्रयोगमा ल्याउन थालिएको खुलासा गरे।
चाइना नेसनल बायोटेक ग्रुपका सीईओ याङ स्याउमिङले कम्पनीले विगत केही महिनामा थुप्रै मुलुकसँग तेश्रो चरणको खोप परीक्षणका लागि सम्झौता गरेको जानकारी दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
