सशस्त्र प्रहरीका थप ४२ जनामा कोरोना सङ्क्रमण

चितवन । राप्ती नगरपालिकाको भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनी वाग्मती प्रदेशका ४२ प्रहरीमा एकै साथ कोरोना सङ्क्रमण देखिएको छ।

उनीहरुमध्ये दुई महिला र ४० पुरुष रहेको भरतपुर कोभिड–१९ प्रयोगशालाले जानकारी दिएको छ।

Advertisement

यसअघि सोही बाहिनीका आठ जनामा कोरोना सङ्क्रमण देखिएपछि अन्यको परीक्षण गरिएको बाहिनी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठले जानकारी दिए।

साठ्ठी जनाको नमूना सङ्कलन गरी पठाइएकामा ४२ जनामा सङ्क्रमण देखिएको जानकारी आफूले प्राप्त गरेको उनले बताए।

नौ जनालाई ज्वरो आएकामा निको हुँदै गएर सोमबार साँझ एक जनालाई मात्र ज्वरो बाँकी रहेको उनले जानकारी दिए। बाहिनीमा ३०० भन्दा बढी सशस्त्र प्रहरी रहेका छन्। यो बाहिनीले वाग्मती प्रदेशको राजधानीका तीन जिल्लाबाहेकका जिल्ला हेर्ने गर्दछ।

दुई दिनअघि पूर्वी चितवनका नगरप्रमुखहरुको बैठकले सो बाहिनी उच्च जोखिममा रहेको भन्दै त्यहीँ आइसोलेसन निर्माण गर्न वाग्मती प्रदेशलाई अनुरोध गर्ने निर्णय गरेको थियो।

राप्ती नगरप्रमुख प्रभा बरालले सङ्क्रमण देखिएपछि सशस्त्र प्रहरी सबै बाहिनीभित्रै रहेकाले बाहिर सङ्क्रमण फैलन नपाएको अनुमान गरिएको बताए।

सङ्क्रमण देखिएका प्रहरीलाई त्यहीँभित्र आइसोलेसन तयार गरी उपचार गरिने उनले जानकारी दिए। सोमबार राति अबेर कोभिड–१९ प्रयोगशालामा आएको नतिजाअनुसार ५० सङ्क्रमितमध्ये ४६ चितवनका हुन्।

More News last news
Loading...