काठमाडौँ । भदौ १ गतेबाट कुनैपनि व्यवसायिक हवाई उडान र लामो दूरीका सवारीसाधन सञ्चालन नहुने भएका छन् । कोभिड–१९ क्राईसिस् म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)को आइतबार बसेको बैठकले पूर्व निर्धारित मितिबाट सो निर्णय १५ दिन पर सार्न सरकारलाई सिफारिस गरेसँगै हवाई उडान र लामो दूरीका सवारीसाधन सञ्चालन नहुने भएका हुन्।
भाद्र १ गतेबाटै खुल्ला गर्ने भनिएका अन्तरजिल्ला लामा तथा छोटा दुरीका सवारी साधन १५ दिनका लागि पर सार्न निर्देशन दिएको छ। आईतबार बसेको सिसिएमसीको निर्णयले मुलुकमा कोभिड–१९ को संक्रमण र जोखिम झन् बढेको भन्दै यसअघि भएको निर्णयमा पुनर्बिचार गर्दै आन्तरिक तथा बाह्य व्यवसायिक उडान, खेलकुद प्रशिक्षण, विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षा जस्ता कार्य भदौ १५ सम्म स्थगित गर्न सरकारलाई सिफारिस गरेको प्रवक्ता महेन्द्र गुरागाईंले जानकारी दिए।
यसअघि गत साउन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले १२० दिन लामो लकडाउनको अन्त्य गर्दै अन्तर जिल्ला सार्वजनिक यातायात सञ्चालन, आन्तरिक तथा बाह्य सबै व्यवसायिक हवाई उडान, विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि खुल्ला गर्ने निर्णय गरेको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
