तनहुँमा बाढी र पहिरोमा परी ११ जनाको मृत्यु (सूचिसहित)

तनहुँ । तनहुँमा आइतबार राती परेको अविरल वर्षाले आएको बाढी र पहिरोमा परी ११ जनाको मृत्यु भएको छ। व्यास नगरपालिका, रिसिङ र माग्दे गाउँपालिकामा गरी तीन ठाउँमा पहिरो जाँदा ११ जनाको मृत्यु भएको हो।

व्यास नगरपालिका–९, माझकोटमा दुई घर बाढीले पुरिँदा ४० वर्षीय कमला थापा, २४ वर्षीय मनोज थापा, २१ वर्षीय अञ्जना थापा, २० वर्षीय राजेश थापा र ६० वर्षीया मैतीकुमारी घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक (एसपी) अरुण पौडेलले जानकारी दिए।

Advertisement

त्यस्तै रिसिङ गाउँपालिका–८, पल्ट्याङ भैँसीकिलीका २८ वर्षीय भेषबहादुर थापा, २२ वर्षीय महादेव थापा, २० वर्षीया मनिसरा थापा, २८ वर्षीया मिनीमाया थापा र पाँच वर्षीया बालिका अनिसा थापाको ज्यान गएको ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए।

ऋषिङका पाँचै जना र व्यास नगरपालिकाका तीन जना एउटै परिवारका हुन्। म्याग्दे गाउँपालिका–६ का १५ वर्षीया बालिका लक्ष्मी विकको पनि पहिरोमा परी ज्यान गएको छ। जिल्लाका साना तथा ठूला खोला नदीमा बाढी आउँदा पृथ्वी राजमार्ग, लगायत शाखा सडक मार्गहरूमा पहिरो जाँदा यातायातमा समस्या भएको छ।

त्यसैगरी व्यास नगरपालिका–२ निवासी राम शाहले व्यावसायिक रुपमा पालेको एक हजार कुखुरा बुल्दी खोलामा आएको बाढीले बगाएको छ। उनका अनुसार करिब पाँच लाख रुपियाँ बराबरको क्षति भएको छ।

More News last news
Loading...