काठमाडौँ । नेपाली काँग्रेसका नेता दिपक खड्काले संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको पहिरोले पुरिएकाको उद्धार र राहतमा जुट्न सबैलाई आग्रह गरेका छन् ।
नेता खड्काले आज एक विज्ञप्ती जारी गर्दै सिसुवाखोलाको बेसिन्दामा गएराती अविरल वर्षाका कारण आठ घर बगाएर ११ जना सम्पर्कविहिन भएको भन्दै उनीहरुको उद्धारमा जुट्न आग्रह गरेका हुन् ।
काँग्रेसको तर्फबाट संखुवासभाबाट संविधानसभा सदस्यमा निर्वाचित नेता खड्काले संखुवासभा सदरमुकाम खाँदबारीबाट झण्डै एक दिन टाढा विपन्न बस्तीमा गएको पहिरोले ठूलो जनधनको क्षति पुगेको बताएका छन् ।
नेता खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “बेसिन्दा गाउँ नै शोकमा डुबेको बेलामा म आँफै उक्त क्षेत्रमा राहत र उद्धारमा जुट्न प्रयासरत छु । देशमा तीन तहको सरकार भएको महशुस गराउन तत्काल राहत र उद्धारमा जुट्न स्थानीय, प्रदेश र केन्द्रीय सरकारलाई हार्दिक आग्रह गर्दछु।”
उक्त क्षेत्रमा उद्धारका क्रममा हृदयघात भएर एक जनाको मृत्यु भएको छ । खड्काले उनको निधनमा दुख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।
नेता खड्काले यस कठिन परिस्थितीमा उद्धारमा खटिन स्थानीय तह, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जिल्ला प्रशासन कार्यालय संखुवासभा, जिल्ला दैवी प्रकोप उद्धार कार्यालय संखुवासभा, जिल्लाभित्रका विभिन्न सामाजिक संस्था, तरुण साथीहरुलाई खटिन आह्वान समेत गरेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
