नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूले काम गर्ने क्रममा दुर्व्यवहारको सामना गर्नुपरेको खुलासा गरेकी छिन् ।
सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै उनले सो कुराको जानकारी दिएकी हुन् । आफूले यसबारे इन्डिस्ट्रीका थुप्रैलाई बताएपनि करियरमा धब्बा लाग्ने र काम नपाउने भन्दै यसलाई सार्वजनिक नगर्न सुझाएको उनले बताइन् । उनले भनिन्, ‘उहाँहरुले ममाथि भएको दुर्व्यवहारमाथि दुःख व्यक्त त गर्नुभयो तर कसैलाई नभन्न सुझाउनुभयो । किनभने यो उद्योग निकै सानो छ र जोसँग शक्ति छ, उनीहरुले यो उद्योगलाई नियन्त्रण गर्न सक्छन् । उनीहरुको एकता छ, उनीहरुले तपाईंलाई यो क्षेत्रमा टिक्न दिँदैनन् । यदि मैले पहिले नै मुख खोलेको भए, मेरो लागि सम्भावनाको ढोका पहिले नै बन्द हुन्थे भनेर सम्झाए पनि । ’
आफूलाई धेरैले घमण्डी र छुच्ची किन भने होलान् भनेर विचार गर्दा आखिरमा तिनै व्यक्तिले यस्तो भ्रम फैलाएको भन्नेमा आफू ढुक्क भएको उनले बताइन् । उनले भनिन्, ‘मैले आठवटा फिल्ममा ८ भिन्न व्यक्तिसँग काम गरेको छु । तीमध्ये तीन व्यक्तिले माथि दुर्व्यवहार गरे तसर्थ उनीहरुसँग पुनः काम गर्न चाहिनँ । त्यसपछि नै उनीहरुले ममाथि गलत कुरा फैलाउन सुरु गरे र उनीहरुले यो अहिलेसम्म पनि गरिरहेका रहेछन् ।’
उनले आफूमाथि ह्यारेशमेन्ट भएको पनि बताएकी छिन् । तर ह्यारेशमेन्ट गर्ने व्यक्तिले नै थुप्रै मानिसहरुको अगाडि आफ्नो खिल्ली उडाउँदै हाँसोको पात्र बनाएको उनको आरोप छ ।
साम्राज्ञीका अनुसार उनले १७ वर्षको उमेरमा पहिलो फिल्ममा अभिनय गरेकी हुन् । तर पहिलो फिल्ममा उनले जे जति कुरा सामना गर्नुपर्यो, त्यो एक किशोरीले सहन सक्ने कुरा नभएको उनी बताउँछिन् ।
फिल्मको व्यवस्थापन राम्रो भएन, खाना समयमा पाइएनँ, पानीको समेत राम्रो व्यवस्था नहुँदा आफूलाई ती व्यक्तिले कुटुँला झैं जाइलागेको र मुख छोडेर तथानाम गाली गरेको साम्राज्ञीको आरोप छ । क्रुका सबै सदस्यको अगाडि त्यस्तो व्यवहारले आफू आघात भएको र दुई घण्टासम्म रोएको उनले बताएकी छिन् ।
यस्तै अर्को फिल्मको सुटिङका बेला पनि आफूमाथि दुर्व्यवहार भएको र आफूले अभिभावक मानेर असाध्यै विश्वास गरेको व्यक्तिले नै विश्वासघात गरेको उनले आरोप लगाइन् । दुर्व्यवहारका कारण नै उनीहरुबाट आएको थप कामको प्रस्ताव स्विकार नगरेको उनी बताउँछिन् ।
आफूले फिल्मी क्षेत्रमा समान व्यवहार र सम्मान मात्र चाहेको उनले स्पष्ट पारिन् ।
आफूमाथि भएको दुर्व्यवहारबारे मिडियामा आवाज उठाउँदा एक निर्देशकले उनलाई ‘यति धेरै कमाउँछौ, राम्रो गरिरहेकी छौ यस्ता कुराहरु मिडियामा नभन ’ भनेर सम्झाएको उनले बताइन् । यसबारे उनी भन्छिन्, ‘मलाई लाग्छ, ती व्यक्तिले पनि धेरै नराम्रो कुरा गरेका छन्, नभए मैले साँचो कुरा गर्दा मेरो मुख थुन्ने कोसिस किन गर्नु पर्यो ?’
साम्राज्ञीको आफ्नो बयानमा कसैको नाम त लिएकी छैनन् तर उनले घुमाउरो पारामा आफूले डेब्यू फिल्ममा नै दुर्व्यवहार खेप्नुपरेको बताएकी छिन् । उनको डेब्यू फिल्म ‘ड्रम्स’ हो जसको निर्माण भुवन केसीले गरेका हुन् ।
साम्राज्ञीले यस्तो भिडियो सार्वजनिक गरेपछि भुवन केसीले सामाजिक सञ्जाल फेसबुकमार्फत् यसबारे प्रतिक्रिया दिएका छन् ।
उनले लेखेका छन्, ‘ खान नपाएको भन्दै सामाजिक संजालमा रोई कराई गर्ने नायिका अहिले कुन चलचित्रको नाम बेचेर खाइरहेकी छिन् रु जुन थालमा खाने त्यही थालमा दुलो पार्ने । सामाजिक संजालमा गर्ने बराबर अभिनय फिल्ममा गरे हुने नी ।’
भुवनको यस्तो प्रतिक्रिया पछि साम्राज्ञीले पुनः अर्को भिडियो बनाएकी छिन् । यसमा उनले भुवन केसीलाई यौन पिपाषुको संज्ञा दिएकी छिन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
