‘नेपालमा ३० पैसा पर्ने औषधिले कोरोनाका बिरामीहरुको ज्यान जोगाउँछ’

नेपालमा प्रति ट्याब्लेट ३० पैसा पर्ने एउटा औषधि, डेक्सामेथासोन, ले कोरोना रोगका कारण हुने मृत्यु एक तिहाइ सम्म घटाउन सक्ने वैज्ञानिकहरुले बताएका छन्।

अक्सफोर्ड युनिभर्सिटीको टीमसहितको संलग्नतामा कोरोना संक्रमितको उपचारको लागि उक्त औषधिको  परीक्षण गरिएको थियो । परीक्षणका क्रममा विभिन्न अस्पतालमा उपचाररत २ हजार संक्रमितलाई उक्त औषधि दिइएको थियो । उनीहरुमा परेको प्रभाव यो औषधि नलिएका अन्य ४ हजार संक्रमितसंग तुलना गरिएको थियो ।

Advertisement

परीक्षणका क्रममा  डेक्सामेथासोनले भेन्टिलेटरमा रहेका संक्रमितहरुमा २८ देखि ४० प्रतिशतले मृत्युको जोखिम कम गरेको पाइएको थियो । त्यस्तै अक्सिजनको सहायता लिएका संक्रमितहरुमा २० देखि २५ प्रतिशतले मृत्युको जोखिम घटाएको पाइएको थियो ।

तर यो औषधिले कोरोना संक्रमणका सामान्य लक्षण रहेका तथा श्वासप्रश्वाससम्बन्धी समस्या नरहेका संक्रमितहरुलाई भने खासै फाइदा नगर्ने बताइएको छ ।

ब्रिटिश  प्रधानमन्त्री बोरिस जोनसनले डेक्सामेथासोन औषधि कोरोना भाइरस विरुद्ध अहिले सम्म पत्ता लागेका औषधिहरुमध्ये सबैभन्दा सफल औषधी साबित भएको बताए  र  बेलायत सरकारको आर्थिक सहयोगबाट ब्रिटिश वैज्ञानिकहरूले यसलाई पत्ता लगाएको भन्दै गर्व गरेका छन् ।

स्टेरोइड औषधि

हामीसँग कुरा गर्दै  त्रिवि शिक्षण अस्पतालबाट  सेवानिवृत्त श्वास प्रश्वास रोग सम्बन्धी विशेषज्ञ प्रा. डा. करबिरनाथ योगीले भने, ” यो धेरै वर्ष देखि प्रयोग हुँदै आएको स्टेरोइड औषधि हो। हामीले आइसीयुमा निकै गम्भीर अवस्थामा रहेका बिरामीहरुमा, मस्तिष्कमा संक्रमण वा अन्य गम्भीर संक्रमण भएको अवस्थामा यो औषधिको प्रयोग गर्दै आएका थियौं।  कोरोना संक्रमित भएर आइसीयुमा भर्ना गरिएका बिरामीहरुका लागि मदत गर्ने औषधि (supportive medicine) को रुपमा यो उपयोगी हुन सक्छ, तर ‘आउटडोर पेसेन्ट’ हरुका लागि यी औषधि प्रयोग गर्नुहुंदैन किनभने लामो समयसम्म प्रयोग गर्यो भने यसले उल्टै शरीरको प्रतिरोध क्षमता घटाइदिन्छ।”

भारतबाट आयात गरिने यो औषधि नेपालमा सजिलै पाइन्छ, तर नेपालमा अहिलेसम्म कोरोना संक्रमितहरुमा यो औषधि प्रयोग नगरिएको पनि डा. योगीले बताए।

एक ट्वीट गर्दै एडिनबरा विश्वविद्यालयको ग्लोबल पब्लिक हेल्थ विभागकी प्राध्यापक देवी श्रीधरले भनिन्, “गम्भीर अवस्थामा रहेका बिरामीहरुका लागि यो सकारात्मक समाचार हो।  तर कोरोनाका सामान्य लक्षण देखिएका बिरामीहरुलाइ गम्भीर स्थितिमा जान रोक्ने औषधि पत्ता लाग्यो भने चाहीं त्यो ‘गेमचंजर’ (अत्यन्तै महत्वपूर्ण) हुनेछ ।”

यसै गरी यो अध्ययनको पूर्ण विवरण प्रकाशित नगरिकनै संचारमाध्यममा सार्वजनिक गरिएको भन्दै केही वैज्ञानिकहरुले आलोचना गरेका छन्।

बीबीसी र ग्लाेबल नेप्लिजकाे सहयाेगमा

More News last news
Loading...