नारायण पाण्डे । ७० वर्ष लामो संघर्ष पश्चात आज हामीले भनेको नयाँ नेपाल अर्थात् गणतान्त्रिक नेपालमा छौं । हामीले चाहेको जस्तै जनताको अधिकार जनतामा निहित छ । समाज र राष्ट्रको भविष्य कस्तो हुने भन्ने हाम्रो समाज र नागरिकको चेतना स्तर, हाम्रो सोचाइ, व्यवहार र कार्यशैलीमा निर्भर रहन्छ।
संसारले मानेको उत्तम शासकीय ब्यवस्था लोकतन्त्रको स्थापनापछि पनि नागरिकको जीवनमा किन भिन्नता आएन ? देशले किन गति लिन सकेन् ? भन्ने विषय आज पनि समिक्षाको बिषय हो । हामी कहाँनेर चुक्यौं, राष्ट्रको रक्षा र बिकासको बाटोमा अपेक्षाकृत उपलब्धी किन हुन सकेन् ? भन्ने पनि हाम्रो चासो र चिन्ताको बिषय हो ।
कानुन बदल्यौं, शासकीय व्यवस्था बदल्यौं तर समाज किन बदलिएन् ? जनताको जीवनशैलीलाई किन राजनीतिक परिवर्तनले छुन सकेन्, भन्ने बिषय हाम्रा चिन्तन र मननका बिषयहरु हुन् । कमजोरी हरेक कुरामा हुन्छन् लोकतान्त्रिक पद्धतिमा पनि छन् र कतिपयले लोकतन्त्रकै दुरुपयोग गरेर खराब मनसायबाट नेतृत्वमा पुग्ने होडबाजी गर्छन् र पुग्छन् पनि ।
हाम्रा सामाजिक संरचनाका पुँजीहरु भत्काइदिन सक्छन्, भन्ने तथ्य हामीले वेवास्ता गर्न मिल्दैन् । अब राष्ट्रिय सुरक्षाका बिषयमा गम्भीर भएर सोच्ने र निर्णय लिनुपर्ने समय आईसकेको छ । विभिन्न बहानामा आउने कानुन र कथित अधिकाररुपी छिद्रहरु पहिचान गर्ने र टाल्ने काम हामी सबै आम नागरिकको दायित्व हो ।
नेपाल बहुभाषी, बहुजाती, सबै धर्म सम्प्रदाय मिलेर बसको हिन्दु राष्ट्र थियो । न जनताले धर्म निरपेक्षता कहिल्यै मागेका थिए, न त जनआन्दोलनको म्याण्डेट नै थियो । अहिलेको तुलनामा हेर्ने हो भने, हिन्दु राष्ट्र कायम रहँदा बरु धर्म, संस्कृती एवं जातीय विभेद देखिदैनथ्यो । हिन्दु राष्ट्र हटाउँदा कसलाई के फाइदा भयो ? धर्म निरपेक्ष राष्ट्र भएसँगै धर्म परिवर्तन गराउने होडबाजी नै चल्यो, धर्मकै आधारमा पार्टी गठन गर्ने, राजनीतिक शक्तिका आडमा आफ्ना मुद्दा स्थापित गर्ने, राष्ट्रिय गोपनियतामा खलल पुर्याउने र द्धन्द्ध मच्चाउने कामहरु बाहेक केहि भएनन् । यसै सन्दर्भको सानो विवादको बिषयका रुपमा होली वाइन प्रकरणलाई लिन सकिन्छ ।
अर्को छिद्रको रुपमा आधाआधी प्रवेश गरेको नागरिकता सम्बन्धी विधेयक पनि हो । मधेश आन्दोलनको नाममा होस् वा विभिन्न देशबाट सञ्चालिन एनजीओ मार्फत नागरिकता प्रावधान चरणबद्द परिबर्तन गरियो र त्यो परिवर्तनको प्रयास अझै रोकिएको छैन् । जुन कुरा न त मधेशी जनताको हितमा छ न त राष्टकै हितमा छ । ठूला बिकसित देशको तुलना हाम्रो जस्तो देशसँग गरिनु र लहडमा लाग्नु अत्यन्तै घातक देखिन्छ ।
एकजना कसैले चार तलाबाट हाम फाल्दा केहि भएन्, भनेर हामी पनि त्यसरी नै हाम फाल्ने सोच राख्यौ भने गलत परिणाम निस्कन सक्छ । हाम्रो राष्ट्रको जस्तो जटिल भौगोलिक स्थिती, आर्थिक एवं सामाजिक बनोटका सम्भावना र चुनौतीलाई मनन गर्न सक्नुपर्दछ । हाम्रो राष्ट्रिय सरक्षा त्यती बेला बलियो र मजबुत बन्दछ जतिबेला हामी भित्रमा कुरा गोप्य हुन्छ्न्, नेपालको संसदमा एउटा राष्ट्रको जासुस घुस्न सक्ने छिद्र पनि बेलैमा टाल्नु जरुरी छ । लोकतन्त्र प्राप्तिको लडाई लडाई गौरवपूर्ण हुदाँहुदै पनि केहि अपेक्षा नगरिएका चाहाना विपरीतका केहि कार्यहरु समेत भए ।
कहाँबाट कसरी बिभाजन गराउने प्रयास गरे ? “भाइ फुटे गवार लुटे” भनेजस्तै उनीहरुको मनसाय हामीले बुझ्न सकेनौं कि ?, चर्चित बनेको होलि वाईन काण्ड, नेपाली सांसदले खुलेआम दिएका राष्ट्रघाती अभिव्यक्ति, बिभिन्न एनजीओ र आइएनजीओका नाममा धर्म परिवर्तन गराउने नेपाली संस्कृती र सभ्यता माथिका नजानिदा प्रहार हाम्रो राजनीतिक र कानुनी व्यबस्थामा भएका छिद्र प्रयोग गरी रचिएका गम्भीर षडयन्त्रका उपज हुन् जसलाई सामान्य रुपमा लिन सकिदैन् ।
जागो मधेश
मधेश आन्दोलनको पनि आफ्नै इतिहास, कथा ब्यथा र पीडाहरु छन् । फरक–फरक समयमा भएका मधेश आन्दोलनले जागरण ल्याउदै ल्याएन भन्न मिल्दैन, केहि हदसम्म जागरुकता ल्यायो । सामाजिक रुपान्तरणको प्रयास गर्यो होला तर अब मधेशी जनताले साच्चै एकपटक सहि समिक्षा गर्ने बेला आएको छ । के मधेश आन्दोलनका नाममा राखिएका सबै माग मधेशी जनताको हितमा छन् ? वा आफ्नो राजनीतिक स्वार्थ परिपूर्तिका लागि तराईबासीको भावनामा खेलवाड गरिएको छ ।
अधिकारको नाममा विभिन्न समयमा लाखौ बिदेशीलाई बाडिएका नागरिकताले बास्तबिक रैथाने तराईबासीलाइ न्याय गर्ला कि, बहुमत बिदेशीले रैथाने बासीलाई शोषण गर्ने अबसर देला ? संबिधानको धारा ११ को ३ मा उल्लेख गरीए अनुसार “यो संबिधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन भने निज बालिक भएपछी वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ” माथि उल्लेखित बुदाँले मधेसी जनतामाथिको न्याय हो वा धोका ?
त्यस्तै अंगिकृत नागरिकलाई राजनितिक अधिकार हुनु भनेको सिधा–सिधा तिमि चोर बाटो बाट नेपालको नागरिक बन अनि हामि माथि शासन गर भनि निमन्त्रणा दिए जस्तै हो, यस्तो ब्यबस्थाले के मधेशी जनतालाई राजनीतिक अधिकार देला कि मधेसीको नाममा बिदेसीलाई सजिलो गराउला ? हामीले सुनेका पढेका छौ, विभिन्न देशका जासुसहरु अर्को देशमा आर्मीको माथिल्लो तह सम्म पुगेका सांसद मन्त्रीसम्म बनेका, भित्रका गोप्य सूचनाहरु पत्ता लगाई कमजोर बनाइएका, राष्ट्रको अस्तित्व नै समाप्त भएका ।
अब मधेशमा बस्ने जनता चनाखो हुनुपर्छ, मधेशीको नाम बेचेर दलाल गर्ने हरुको बिरुद्द तराइबाटै आवाज उठ्नु पर्छ । जुनसुकै पार्टीमा आबद्द भए पनि मधेसको नेतृत्व गर्छु, भन्ने नयाँ युवाहरुले मधेशलाई जगाउन सक्नु पर्छ । तराईमा सक्रिय संघ सस्था हरेक राजनीतिक दलका कार्यकर्ताले बुझ्न र बुझाउन सक्नुपर्छ ।
पटक–पटक गरि सयौ मधेसी जनताको रगत बग्यो के साचो अर्थमा बलिदानी अर्थपूर्ण रह्यो ? समय समयमा बन्ने र फुट्ने मधेसी राजनीतिक दल र तिनका नेता पटक–पटक सरकारमा गए, मन्त्री बने, के यहि थियो त मधेस आन्दोलनको ‘म्यान्डेट’ ? के भारतीय चेली र बिदेशी नागरिक मन्त्री बनाउनका लागि बगेको थियो रगत ? मधेशी जनताले मुकुण्डोधारी नेता चिन्न सक्नु पर्छ। रगतको हिसाब–किताब मधेशबाट नेतृत्व गर्ने नेतासँग माग्ने बेला आएको छ ।
अब मधेशी जनता जाग्ने बेला आएको छ, सरिता गिरि जस्ता पात्रहरुलाई नांगेझार पर्ने बेला भएको छ । जब सरिता गिरीका जस्ता अभिव्यक्तिको बिरोध हुन्छ, मधेशी जनताको बिरोध भनिन्छ । भावनात्मक रुपमा फेरी अर्को षडयन्त्रको तानाबाना बुनिन्छ । सामानुपातिक प्रतिनिधित्वको व्यवस्था भारतीय चेली बिदेशी घुसपैठका लागि होइन, हाम्रा मधेशका उर्दु, अबदी, मैथली, भोजपुरी, थारु, बंजिका भाषीहरुको उत्थानका लागी हो, यसको उपभोग उनीहरुले गर्न पाउनुपर्छ ।
मधेसको उन्नति महेन्द्र नारायण निधि, रामबरण यादबले अंगालेको बाटोमा छ वा सिके राउतको पृथकतावाद अब मधेशले छुट्याउन सक्नु पर्छ ।
बुझ पहाडी
दार्जलिङ र सिक्किमबासीलाई नेपाली देख्ने र मधेशका जनताको राष्ट्रियतामा शंका गर्ने कथित पहाडी झुण्डहरुको सोच राष्ट्रको लागि अझ बढी घातक छ । वास्तविक राष्ट्रियताको कस्तो हुन्छ दिनरात जंगे पिलरको रक्षा गर्नेलाई थाहा हुन्छ न की राजधानीमा उफ्रिने भिडलाई ।
सीमाको रक्षा गर्ने क्रममा कयौं मधेशी दाजु भाइको रगत वगेको छ । सप्तरीका देब नारायण यादब जस्ता मधेशी नागरिको रगतले हाम्रो सिमा सुरक्षित छ भन्ने तथ्य पहाडी समुदायले बुझ्न जरुरी छ । शंका हाम्रा धर्ति पुत्रहरु संग होइन विभिन्न समयमा नागरिकता लिएका घुस पैठी सँग हो, तसर्थ मधेशी दाजु भाइको बास्तबिक समस्याको समाधान र अधिकारका लागि पहाडी समुदायले बुझेर हातमा हात मिलाउनु जरुरी छ ।
अन्तमा,
हिमाल, पहाड, तराई बीचको सम्बन्ध बिगत देखि नै मजबुद छ । समय–समयमा खलल गर्न खोजे पनि, भूकम्प बाढी जस्ता विपत्तीमा पहाड र तराईको दुःख, सुःख साटेको अनुभव गर्न सकिन्छ । सिमामा जंगे पिलरको रक्षा गर्ने धर्तीपुत्रहरुको गुणगान जति गरे पनि कमै हुन्छ । बिगतका निर्बाचनमा तराईबाट पहाडको उम्मेदवार र पहाडी भू–भागमा मधेशी मुलको निर्बाचन जितेका उदाहरण पनि हामीसँग प्रशस्त छन्।
विश्वशक्तिको होडमा चलेका दुईदेशको बीचमा अव्यबस्थित आर्थिक, सामाजिक दुष्टिबाट अत्यन्तै नाजुक हिमाली राज्यका आफ्नै जटिलता छन् । सारा विश्व उपनिबेसको पिडामा हुदा स्वतन्त्र रहन सफल नेपाल, आज बिदेशीहरुको क्रिडा स्थल बन्नुमा हामिले गरेका गम्भीर त्रुटी र गल्ति सच्च्याउने इच्छा शक्ति नहुनु जिम्मेवार छन् । हरेक देशका आफ्ना राष्ट्रिय स्वार्थ हुन्छन् ।
भारत र चीन मात्रै होइन पाकिस्तान अमेरिका जुनसुकै राष्ट्रको आफ्ना स्वार्थ हुन्छन्, यस्तै हाम्रो पनि हुन्छ । हाम्रो जस्तो अर्थ व्यवस्था, सानो भूगोल, थोरै जनसंख्या भएको देशमा कुनै पनि देशले दबाब र प्रभावमा घुस पैठ गर्ने बिबादित गराउने आफ्नो स्वार्थ सिद्द गर्ने सम्भावनालाई बन्द गरिनुपर्छ ।
साम्राज्यवाद र विस्तारवादको चपेटाबाट बच्न नेपाल पनि चनाखो हुन आवश्यक छ। नेपालले बिगत र वर्तमानमा अनुसरण गरेका परराष्ट्र र राष्ट्रिय सुरक्षाका नीति, हाम्रो संबिधान र कानुनी ब्यवस्थामा पुनरावलोकन हुन आवश्यक छ। सम्पूर्ण नागरिकको अधिकार सुनिश्चित गरि हिमाल पहाडको एकतामा मात्र सम्बृद्ध नेपाल सम्भब छ ।
निश्कर्षमा,
– अंगिकृत नागरिकलाई राजनीतिक अधिकार दिनु हुदैन् ।
– नागरिकता सम्बन्धि प्राबधान संबिधानको, धारा ११ को २ (ख) र (३) सच्च्याउन आवश्यक छ ।
– समानुपातिक चुनाब प्रणाली समाजमा पिछडीएका, राजनीतिको मूल धारबाट टाढा रहेका समुदायहरुको प्रतिनिधित्वका लागि ल्याइएको भएता पनि यो मुठ्ठीभर टाठाबाठाहरुका लागि संसद भित्र छिर्ने चोर झ्याल बन्न पुग्यो, त्यसले यसको उपयोगितामाथि गम्भीर प्रश्न चिन्ह खडा भएको छ । जसको ज्वलन्त उदाहरण हो सरिता गिरि, त्यस्तै दलित जनजाति आदिबासीभित्र पनि यस्तै पात्र र प्रबृत्ती छरपष्ट भेटन सकिन्छ ।
–२०६२/६३ मा बाडिएका फर्जी नागरिकता छानबिन हुन आवश्यक छ ।
– हिन्दु राष्ट्र नेपाल सबै धर्म सम्प्रदाय, संस्कृतीको रक्षा मात्र नभई सार्बभौम अखण्ड नेपालको पुंजी हो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
