काठमाडौं । अनलाइन र दैनिक पत्रिकाका सम्पादकहरुले काठमाडौं प्रेस अनलाइनमा प्रकाशित समाचार अनधिकृत रुपमा हटाईएको भन्दै भत्र्सना गरेका छन् ।
बिहीबार दैनिक पत्रिका र अनलाइनका २१ जना सम्पादकहरुले संयुक्त विज्ञप्ति जारी गर्दै समाचार सामग्री हटाउन प्रधानमन्त्री केपी शर्मा ओलीका आईटी सल्लाहकारको प्रत्यक्ष भूमिका आपत्तिजनक रहेको जनाएका हुन् । विज्ञप्तीमा भनिएको छ,‘ ‘माथिको आदेश’ भन्दै वेब डेभलपर्सका तर्फबाट समाचार हटाउने यो आपत्तिजनक कारवाहीमा प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि सल्लाहकार असगर अली सिरान टेक्नोलोजिज्को प्यारेन्ट कम्पनी एफवान सफ्टका एक साझेदार हुनुले सरकारलाई गम्भीर सन्देहमा पारेको छ।’
बुधबार काडमाडौं प्रेसको ‘चीनबाट झिकाइएका कमसल स्वास्थ्य सामग्रीको घोटाला प्रकरणमा सरकारका उच्च अधिकारीका आफन्त संलग्न’ शिर्षकको समाचार शिरान टेक्नोलोजिज् प्रालिले अनधिकृतरुपमा हटाएको थियो। सम्पादकहरुले अनलाइन समाचार साइट बन्द गराउन प्रेस काउन्सिलले गरेको सिफारिशले मिडियाप्रति सरकारको गलत तथा संविधानको मर्म विपरीत व्यवहार देखिएकोमा पनि गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाएका छन्।
काठमाडौं डटकम अनलाइनले ‘चीनबाट झिकाइएका कमसल स्वास्थ्य सामग्रीको घोटाला प्रकरणमा सरकारका उच्च अधिकारीका आफन्त संलग्न’ भन्ने समाचार सम्प्रेषण गरेको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
