काठमाडौं । नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक उमेश पटवालले राजीनामा दिएका छन्।
उनले काठमाडौंमा पर्सिबाट सुरु हुने नेपाल, ओमान र अमेरिकाको सिरिज सकिएसँगै लागू हुने गरी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)मा राजीनामा बुझाएका हुन् । विश्वकप लिग टूमा नेपालको पहिलो सिरिज घरेलु मैदान कीर्तिपुरमा हुनेछ ।
पटवाल गत जेठमा एक वर्षका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । नेपाल क्रिकेट संघ निलम्बनमा रहेका बेला राष्ट्रिय खेलकुद परिषद् (राखेप)को पहलमा आईसीसीले उनलाई मासिक ७ हजार डलर तलब दिने गरी मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो।
तर उनले ८ महिनामै राजीनामा दिएका छन्। ‘आईसीसीसमक्ष दिएको राजीनामाको बोधार्थ क्रिकेट संघलाई पनि आएको छ’ क्यान स्रोतले अनलाइनखबरसँग भन्यो।
मुख्य प्रशिक्षक बनेपछि पटवालले २०२० मा अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा नेपाललाई पुर्याउने लक्ष्य सुनाएका थिए । तर साउनमा सिंगापुरमा भएको भएको टी–२० को विश्वकप छनोटको एसिया फाइनलमा नै नेपाल चुक्यो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
