गोबिन्द मरासिनी/नयाँ पुस्ता । काठमाडौं । अहिलेको युग भनेको सुचना, प्रविधिको युग हो । प्रविधिका क्षेत्रमा विश्वले फड्को मारिरहेका बेला नेपालमा पनि यसले निरन्तरता पाउने क्रम वढ्दो छ ।
पछिल्लो समय नेपालमा पनि प्रविधिको प्रयोग गरेर बिभिन्न कार्यहरुको शुभारम्भ थालिएको छ । विश्वमा जस्तै नेपालमा सामाजिक सञ्जाल र बिभिन्न एपहरुको प्रयोग गरेर मानिसहरु स्मार्ट बनिरहेका छन् । बिभिन्न अनलाइनबाट सपिङ गर्ने परम्परा पनि वढ्दो छ । एपकै माध्यमबाट पनि धेरै जानकारी लिन र बुझ्न सकिन्छ ।
यसैबीच नेपालमै पहिलो पटक एक जुजारु युवाहरुको समूहले ‘‘रेष्ट्रो मेनु एप (Restromenu App)’’ सञ्चालनमा ल्याएका छन् । देशमा उचित रोजगारीको अवसर नपाएर हजारौं युवाहरु बिदेशिरहेका बेला बिदेशमा सिकेको सीप र अनुभवलाई सार्थकता दिनका लागि ४ युवाहरुले संयुक्त रुपमा यस एपलाई सञ्चालनमा ल्याएका हुन् । लामो समय जापानमा बसेका सुरेश रेग्मीले यस बिषयमा अनुसन्धान तथा ज्ञान लिएर आफ्नो देशमा फर्केर स्मार्ट अनलाइन सोलुसन प्रा.लि. को स्थापना गरी तीन जना युवाहरु धुव्र शर्मा, सुरेस रेग्मी, श्रवन ज्ञवाली र जगत ज्ञवालीले यस बिषयमा बिज्ञहरुको सल्लाह सुझावमा यस एपको निर्माण गरेका हुन् । 
विदेशमा आफू पनि होटल ब्यवसायी रहेको र सिकेका कुराहरुलाई स्वदेशमा पनि लागू गरौं आफ्नै देशमा केहि गरुम भन्ने उद्देश्यका साथ एपको निर्माण गरेको सोलुसनका म्यानेजिङ डिरेक्टर समेत रहेका रेग्मीले बताए । जापानी साथीहरूले नै यस्तो स्टीम बाट त्यहाँ यस्तै काम हरू गर्दै आएकाले साथीहरूको सोच र कामबाट प्रेरित भई यसलाई नेपालमा पनी विकास गर्नु पर्ने आवश्यक महसुश र सम्भावना देखेकाले यस्तो कार्यको सुरुवात गरेको रेग्मीले बताए ।
तपाईहरु जति पनि रेस्टुरेन्ट पारखीहरु हुनुहुन्छ ? मोबाइल एपको प्रयोग मार्फत तपाई आफूलाई मनमा लागेको खाने रोजेर अर्डर गर्न, कुन खाना वा खाजाको मूल्य कति पर्छ त्यसको जानकारी, कुन रेष्टुरेन्ट जाने, कुन रेष्टुरेन्टको लोकेशन कता पर्छ, आफ्नो नजिक कुन रेष्टुरेन्ट छ, रेष्टुरेन्टको कुन टेबलमा बस्ने भनेर अग्रिम नै बुकिङ समेत गर्न सकिन्छ ।
यसका साथै रेष्टुरेन्टहरुले एपको माध्यमबाट आफ्नो लागि ग्राहकले दिएको प्रतिक्रिया हेर्न, रेष्टुरेन्टको सम्पर्क नम्बर र यावत कुराहरु राख्न र ग्राहकहरुले कुन रेष्टुरेन्टमा प्याकेजहरु वा छुट दिएको छ आदि कुराहरु समेत थाहा पाउन सक्नेछन् । एपले रेस्टुरेन्ट संचालकहरुको ब्यबसाय प्रबद्र्धन गर्ने उपयुक्त माध्यम बन्ने र रेस्टुरेन्ट, ग्राहक बिच पुलको काम गर्नुका साथै ब्यबसायलाई आधुनिक प्रविधिसँग जोडी सरल र सहज बनाउने विश्वास लिईएको छ, जसले महत्वपूर्ण समय र पैसाको पनि बचत हुन्छ ।
बिदेशहरुमा व्यापक रूपमा चलेको प्रबिधि नेपालमा भित्राएपछि अब आफुले रोजेको र खोजेको खाना खान अब भोतारिदै हिड्नु पर्ने अवस्थाको अन्त्य हुने अनलाइन सोलुसन प्रा.लि.का अध्यक्ष धुब्र शर्माले बताए । हाल काठमाडौं लगायत नेपालका प्रमुख पर्यटकीय ठाउँ पोखरा, चितवन, लुम्बिनी र भैरहवा सहित नेपालका विभिन्न स्थानका करिब २ हजार रेस्टुरेन्ट यस एपमा आबद्ध भईसकेका छन् । 
एपले ६ महिनामा करिब ५ हजार, १ बर्ष भित्रमा नेपाल अधिराज्यका करिब दश हजार रेस्टुरेन्ट यस एपमा जोड्ने र आगामी २ बर्ष भित्र अन्तर्राष्ट्रिय स्तरमा समेत जोड्ने योजना रहेको अध्यक्ष शर्माले जानकारी दिए । हरेक किसिमबाट आधुनिक प्रबिधिको उपयोग बढी रहेको अवस्थामा यो एप हालको समयको माग रहेकाले पुर्ण सफल हुनेमा निर्माण पक्ष ढुक्क देखिन्छ ।
केहि समय अगाडी मात्र सार्वजनिक गरिएको रेष्ट्रो मेनु एपले रेष्टुरेन्ट सम्बन्धी सबै जानकारी दिनेछ । यसको लागि तपाइले आफ्नो मोबाइलमा रहेको एपस्टोर वा प्लेस्टोरमा गएर रेष्ट्रो मेनु एप भने डाउनलोड गर्नुपर्नेछ । ‘‘खाना खाँउ रोजेर, रेष्ट्रोमेनुमा खोजेर’’ नारा सहित सार्वजनिक भएको एप्समा रहेका विभिन्न रेष्टुरेण्टले रेगुलर ग्राहकलाई दिने प्याकेजका रुपमा ३ महिना, ६ महिना र एकवर्षको सहुलियत छन् । जसमा डायमण्ड प्याकेज, गोल्डेन प्याकेज, सिल्भर प्याकेज र फ्रि प्याकेज समेत रहेका छन् ।
सरकारले ‘‘भिजिट नेपाल– २०२०’’ मनाउँदै गर्दा पर्यटकका लागि पनि यस एपले पर्यटकलाई सघाउ पुर्याउने र भ्रमण बर्ष सफल बनाउनका लागि यस एपले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
