एक हप्तामा पोर्चुगलमा तीन जना नेपालीको ज्यान गयो

काठमाडौं । पोर्चुगलमा आठ दिनभित्र तीन जना नेपालीको ज्यान गएको छ । पोखरा घर भएका ४७ वर्षीय तोरणबहादुर थापाको आफ्नै अपार्टमेन्टमा निधन भएको छ ।

थापाको हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ । थापा सपरिवार पोर्चुगल बस्दै आएका थिए । उनलाई मधुमेह र उक्त रक्तचापको समस्या रहेको पारिवारिक स्रोतले जनाएको छ । थापाको अन्तिम दाहसंस्कार पोर्चुगलमै गरिने एनआरएनए पोर्चुगलका सचिव यमेन्द्र घर्तीमगरले बताए ।

Advertisement

यसैगरी डिसेम्बर ८ मा नुवाकोटका ४१ वर्षीय नवीनकुमार पाठकको निधन भएलगत्तै गएको मंगलबार झण्डै एक वर्षअघि पोर्चुगल आएका पोखराका २९ वर्षीय युवकको उनकै कोठामा मृत्यु भएको थियो । ती पोखरेलीको नामसहितको विवरण प्राप्त भए पनि मृतकका परिवारको सल्लाहअनुसार सार्वजनिक नगर्न एनआरएनए पोर्चुगलले अनौपचारिक जानकारी गराएको छ ।

उनको शव जोजेजु आकिम फेर्नान्दिस अस्पताल बेजामा राखिएको छ । शव परीक्षण रिपोर्टमा अत्याधिक रक्सी सेवनका कारण बान्ता गर्दा श्वासप्रश्वास नली बन्द भइ अक्सिजनको कमी हुँदा मृत्यु भएको चिकित्सकलाई उद्धृत गर्दै प्रवासी नेपाली एकता मञ्चका सदस्य नारायण शर्माले बताए ।

मृतकको शव नेपाल पठाउनका लागि प्रक्रिया अगाडि बढाइएको एनआरएनएले जनाएको छ ।

More News last news
Loading...