काठमाडौँ । अवैध गतिविधिमा संलग्न गिरोहले बैङ्कमार्फत नै करोडौं रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेर विदेश लैजाने गरेको अनुसन्धानबाट पत्ता लागेको छ।
प्रहरी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यसबारे छानविन गरेको हो। नक्कली कम्पनी खडा गरी २६ करोड रुपैयाँ दुईवटा बैङ्कमार्फत भारत पुर्याइएको एक घटनाको अनुसन्धान सकेर विभागले मुद्दा दायर गर्ने तयारी गरेको छ।
अवैध गतिविधिमा संलग्न एक भारतीय नागरिकले एभरेष्ट बैङ्क र नेपाल एसबिआई बैङ्कबाट २६ करोड रुपैयाँ अवैध रुपमा भारत पुर्याएका हुन्।
ती व्यापारीले बैङ्कका कर्मचारीलाई समेत प्रभावमा पारी सम्पत्ति शुद्धीकरण र अवैध कारोबार गरेको विभागले जनाएको छ।
टेलेक्स ट्रान्सफर (टिटी) मार्फत त्यसरी रकम भारत पुर्याइएको हो। नेपालमा आफ्नो ठूलो कम्पनी भएको कागज देखाएर उनले पटक–पटक गरेर भारतीय बैङ्कमा रहेको आफ्नो खातामा पैसा लगेका हुन्। अनुसन्धानको क्रममा उनको नेपालमा कुनै पनि कम्पनी देखिएको छैन। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
