रोल्पा । बितेका ३ वर्षमा रोल्पा जिल्लाबाट १६० महिला हराए । यसरी हराएकामध्ये प्रहरीको मद्दतमा ९५ जना फेला परे भने अझै ६५ जना बेपत्ता छन् । हरेक वर्ष किन यति ठूलो सङ्ख्यामा महिलाहरु हराउने गर्दछन ? हराएकाहरु कसरी फेला पर्छन् ?
जिल्ला प्रहरी कार्यालय रोल्पाको अभिलेखअनुसार आर्थिक वर्ष २०७३/७४ मा ५६ जना महिला हराए । यसरी हराएका महिलामध्ये ४१ जना मात्रै फेला परे । त्यस वर्ष हराएका ८ जना भेटिएनन् । आव २०७४/७५ मा हराएका ५५ मध्ये ५० जना फेला परे भने पाँच जना फेला पर्न सकेन । गएको आवमा ५६ जना महिला हराए । हराएकामध्ये ४ जना मात्रै फेला परे। बाँकी ५२ जना अझै फेला पर्न सकेको छैन ।
हराएको भनी उजूरी परेकामध्ये केही महिला तथा बालबालिका भने घर फर्किसकेका छन्। अभिभावकले दिएको हुलियाका आधारमा खोजी गरिँदा भेटिएका र आफैं घर फर्केका समेत गरी बितेको ३ वर्षमा ९५ महिला फेला परेको प्रहरीले जनाएको छ । प्रहरीको तथ्याङ्क अनुसार अझै ६५ जना फेला पर्न सकेका छैनन्।
हराएकाहरुका अभिभावकले दिएको सूचनाका आधारमा खोजी गर्न देशभरका प्रहरी युनिटहरुलाई हुलियासहित जानकारी गराउने गरिएको छ । हुलियाकै आधारमा प्रहरीले हराएकाहरुलाई फेला पर्ने गरेको छ । हराएकामध्ये ठूलो सङ्ख्याका महिलालाई प्रहरीले काठमाडौँका ईंटा भट्टामा फेला पर्ने गरेको छ । इँटा भट्टामा काम गर्ने गाउँकै नाइकेले ललाइफकाई लैजाने भएकाले अधिकाँश महिला परिवारलाई जानकारी नदिई भाग्ने गरेको पाइन्छ । राम्रो लाउने, मिठो खाने लहडमा दलालको जालमा फसेर परिवारका सदस्यलाई जानकारी नै नदिई भाग्नेको सङ्ख्या ठूलो रहेको प्रहरीले जनाएको छ।
परिवारलाई अत्तोपत्तो नदिई घर, विद्यालय, पसल, घाँस, दाउरा तथा पँधेराबाटै हराउँदा परिवारलाई मानसिक तथा शारीरिक तनाव हुने गरेको बताइन्छ । हराएका सदस्यको खोजीमा लामो समय बित्ने गरेको अभिभावक वर्गको दुःखेसो छ । यसरी हराएका अधिकाँश महिला वैवाहिक सम्बन्ध स्थापित गर्न आफूखुशी हिँड्ने गरेको प्रहरीले बताएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
