काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारी जग्गा भोगचलनसम्बन्धी नियमविपरीत धुम्बाराहीमा रहेको पार्टीको केन्द्रीय कार्यालय तत्काल हटाउन सत्तारुढ नेकपालाई आग्रह गरेको छ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी सत्तारुढ केन्द्रीय कार्यालय जग्गाको भोगचलनसम्बन्धी नियमविपरीत रहेकोमा आपत्ति जनाउँदै तत्काल धुम्बाराहीबाट हटाउन नेकपालाई आग्रह गरेका हुन्।
नीति, नियम र नैतिकताको पाठ पढाउने राजनीतिक दलको केन्द्रीय कार्यालय नियमविपरीत भएको ठाउँबाट सञ्चालन भैरहेकोमा आफ्नो पार्टीलाई लज्जित र दुःखित बनाएको पनि प्रवक्ता शर्माको भनाइ छ। प्रवक्ता शर्माले नेकपाले कार्यालय त्यहाँ सञ्चालन गरेर गम्भीर गल्ती गरेको दाबी गर्दै क्षमयाचना गर्नुपर्ने तर्क पनि गरे।
त्यस्तै प्रवक्ता शर्माले नेकपाले पार्टीको राजनीतिक प्रतिवेदनमा आफ्नो पार्टीप्रति राखेको दृष्टिकोणप्रति पनि आपत्ति जनाए। उनले नेकपाले छपाइका लागि पठाएको राजनीतिक प्रतिवेदनमा आफ्नो पार्टीप्रति राखेको दृष्टिकोणमा दृष्टिदोष मात्रै रहेको उल्लेख गर्दै आपत्ति जनाए ।
लोकतन्त्रका लागि सँगै लडेको राजनीतिक दलले आफ्नो दलप्रति त्यसरी दृष्टिकोणको नाममा दृष्टिदोष राखेको देखेर आफूलाई दया लागेको प्रवक्ता शर्माको प्रारम्भिक टिप्पणी छ। त्यस्तै नेपाली कांग्रेसले आधिकारिक ट्रेड युनियनबाहेक अरु ट्रेड युनियनको अस्तित्व नै मासिने गरी कानुन बन्न लागेको भन्दै विरोध गरेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
