अमेरिकी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कार्यकारी आदेशमार्फत् इरानमाथि थप प्रतिबन्ध लगाइएको घोषणा गरेका छन्। देशका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईप्रति लक्षित नयाँ प्रतिबन्धहरूलाई ट्रम्पले अमेरिकी ड्रोन खसालिएको र अन्य थप कुराको प्रत्युत्तर भएको बताएका छन्।
राष्ट्रपति ट्रम्पले इरानी शासनको उत्तेजक व्यवहारका लागि सर्वोच्च नेता आयातोल्लाह अली खामेनेई सबैभन्दा बढी जिम्मेवार रहेको भन्दै उनीविरुद्ध त्यस्तो कदम चालिएको बताएका छन्। इरानी विदेशमन्त्री जावाद जरिफले अमेरिकीहरू कूटनीतिलाई घृणा गर्छन् भन्दै टिप्पणी गरेका छन्।
अमेरिकी राष्ट्रपतिले नयाँ प्रतिबन्ध घोषणा गरेपछि उनले ट्रम्प प्रशासनले युद्धको तृष्णा देखाएको भन्दै एउटा ट्वीट गरेका थिए। केही सातायता इरान र अमेरिकाबीच तनाव चर्किएको छ। संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले दुवै पक्षलाई शान्तिपूर्ण ढङ्गले कूटनीतिक बाटो प्रयोग गर्न आग्रह गरेको छ।
कसलाई कस्तो प्रभाव ?
दुई देशबीच तनाव चुलिएकै बेला अमेरिकी राष्ट्रपतिले इरानमा आक्रमण गर्ने योजना बनाएको तर पछि त्यसो नगरिएको कुरा सार्वजनिक गरे। अमेरिकी अर्थ मन्त्रालयका अनुसार नयाँ प्रतिबन्धहरू इरानको सत्तामा बस्ने र इस्लामिक रेभ्युलूशनरी गार्ड कोर भनिने इरानी सेनाको हानिकारक क्षेत्रीय गतिविधिको नेतृत्व गर्ने आठ वरिष्ठ नेताप्रति लक्षित छन्।
यी प्रतिबन्धले इरानको नेतृत्वले आर्थिक स्रोतको पहुँच रोकिदिनेछ र इरानका सर्वोच्च नेता वा उनको कार्यालयले नियुक्त गरेका अधिकारीविरुद्ध कारबाही गर्न सघाउने अमेरिकाको अपेक्षा छ। अमेरिकी अर्थमन्त्री स्टिभ मनुशिनका अनुसार इरानी विदेशमन्त्रीविरुद्ध पनि यही साता प्रतिबन्ध लगाइनेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
