समुद्री आँधी फानी र पश्चिमी वायुका कारण नेपालभरि मौसम प्रभावित

काठमाडौँ । बङ्गालको खाडीमा उत्पन्न भएको शक्तिशाली समुद्री आँधी फानी पूर्वोत्तर भारतको तटीय क्षेत्रमा आइपुग्दा त्यसको आंशिक प्रभाव नेपालको पूर्वी र मध्य भागमा पनि देखिएको नेपालको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

साथै पश्चिमी वायु सक्रिय भएर पूर्वतिर हानिँदा पश्चिम र मध्य नेपालका विभिन्न स्थानको मौसम पनि प्रभावित भएको वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले बताए।

Advertisement

पश्चिम नेपालका विभिन्न स्थानमा शुक्रवार बिहान चट्याङ परेको र हावाहुरीसहित वर्षा भएको थियो। प्रधानाङ्गका अनुसार काठमाण्डू उपत्यका र नजिकैका क्षेत्रमा अहिले पश्चिमी वायुको प्रभावका कारण बादल लागेको र मेघगर्जनसहित पानी परेको हो।

‘फानीले नेपाललाई छोइसक्यो’

झन्डै २०० किलोमिटर प्रतिघण्टाको वेगले अघि बढिरहेको समुद्री आँधी फानीको प्रभावले भारतको तटीय क्षेत्रमा बिहानदेखि नै वर्षा हुन थालेको थियो।

प्रधानाङ्ग भन्छन्, “समुद्री आँधीको प्रणाली ठूलो हुन्छ। फानीको आकार नेपालभन्दा ठूलो छ। बङ्गालको खाडीबाट ओडिशामा प्रवेश गर्दा त्यो समुद्री आँधीले नेपाल वरिपरिको बादललाई छोइसक्यो।”

उनका अनुसार फानी उत्तर दिशातिर सर्दै बाङ्ग्लादेशतिर अघि बढ्दा पूर्वी तथा मध्य नेपालमा शुक्रवार राति अझ प्रभाव पर्नेछ। भारतको मौसम विभागका अनुसार स्थानीय समयानुसार फानी बिहान आठ बजेतिर ओडिशा आइपुगेको थियो। छ घण्टापछि यसको शक्ति केही क्षीण हुँदै बलियो हावाहुरीको रूप लिन सक्ने उसले बताएको छ।

फनीको सम्भावित मार्गमा पर्ने स्थानबाट झन्डै १० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको भारतका अधिकारीहरूले बताएका छन्।

वर्षा र हिमपात

फानी सोझै नेपालमा नआउने भए पनि नजिकैको बाटोबाट उत्तरतिर जाने मौसमविद्हरू बताउँछन्। तर फानीले मौसममा प्रभाव पार्ने हुँदा नेपालमा मेघगर्जन हुने, चट्याङ पर्ने र हावाहुरीसहित हल्का तथा मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान छ।

हिमाली क्षेत्रमा ठूलो हिमपात हुने सम्भावना औँल्याउँदै प्रधानाङ्ग फानीको प्रभाव बाँकी होउन्जेल पर्वतारोहण गर्न उपयुक्त नहुने बताउँछन्।

वसन्त ऋतुमा हिमाल आरोपहण गर्न सयौँ स्वदेशी तथा विदेशी पर्वतारोही, पथप्रदर्शक र सहयोगीहरू सगरमाथालगायत विभिन्न हिमालको आधारशिविरमा भेला भएका छन्।

महाशाखाका अनुसार आइतवारदेखि मौसममा क्रमिक रूपमा सुधार आउने सम्भावना छ। सन् २०१४ मा आएको समुद्री आँधीको प्रभावले नेपालका हिमाली क्षेत्रमा ठूलो हिमपात भएको थियो।

हिमपात र हिमपहिरोमा परेर कम्ती तीन दर्जन व्यक्तिको मृत्यु भएको थियो भने चार सय जनाभन्दा बढीलाई जीवितै उद्धार गरिएको थियो।

मौसममा भएको परिवर्तनलाई दृष्टिगत गर्दै नेपालको पर्यटन विभागअन्तर्गत रहेको होटल तथा पर्वतारोहण शाखाले पर्यटक तथा तिनलाई व्यवस्थापन गर्ने जिम्मा लिएका एजेन्सीलाई मौसमको विचार गरेर सुरक्षित रहन सूचना प्रकाशित गरेको छ।

More News last news
Loading...