अघिल्लो साताको आइतबार भएका श्रृङ्खलाबद्ध आत्मघाती बम हमलाहरूमा कम्तीमा २ सय ५० जनाको ज्यान गएपछि श्रीलङ्काले अनुहार छोप्न लगाइने पहिरनहरूमा सोमवारदेखि लागु हुने गरि प्रतिबन्ध लगाएको छ।
उक्त प्रतिबन्धमा कुनै विशेष पहिरनहरूको उल्लेख गरिएको छैन। तर यस्तो प्रतिबन्ध मुस्लिम महिलाहरू प्रति लक्षित रहेको देखिएको छ। अधिकारीहरूको निर्णय अनुसार अब कसैले पनि अनुहार नदेखिने र पहिचानमा अवरोध हुने खालका पहिरन लगाउन पाउने छैनन्।
श्रीलङ्काका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले राष्ट्रिय सुरक्षाका लागि आकस्मिक उपयाहरू अपनाइएको बताएका छन्।
कस्ता पहिरनमा प्रतिबन्ध?
यो प्रतिबन्धलाई पनि उनको त्यस्तै आकस्मिक उपायका रूपमा अर्थ्याइएको छ। श्रीलङ्कामा रहेका बीबीसीका स्टीभ ज्याक्सनका अनुसार सोमवारबाट लागु हुने उक्त प्रतिबन्धले सबैखाले अनुहार ढाक्ने पहिरनलाई रोक लगाएको हो।
उनी भन्छन्, “घोषणामा मुस्लिम महिलाहरूले लगाउने बुर्का वा ‘निकाब’बारे प्रस्ट उल्लेख छैन। तर यो उनीहरू प्रति नै लक्षित छ भन्ने स्पष्ट देखिन्छ।”
श्रीलङ्कामा धेरै मुस्लिम महिलाहरूले अनुहार छोपिने खालका पहिरन लगाउँदैनन्। तर पछिल्ला वर्षहरूमा भने अनुहार ढाक्ने पहिरतप्रति आकर्षण बढेको बताइन्छ।
श्रृङ्खलाबद्ध आत्मघाती बम हमलाभन्दा अगाडि पनि श्रीलङ्कामा कतिपयले अनुहार छोप्ने खालका परिहरनमा प्रतिबन्ध लगाउने माग गर्दै आएका थिए। ती बम वस्फोटनहरूले यस्तो प्रतिबन्ध लगाउनु पर्ने माग अझ प्रबल बनेको थियो।
श्रीलङ्कामा अघिल्लो साताको आइतबार ईसाईहरूको पर्व इस्टरका दिन चर्च र होटलहरूमा श्रृङ्खलाबद्ध आत्मघाति बम विस्फोटनहरू भएका थिए। ती घटनामा परि कम्तीमा २ सय ५० जनाको ज्यान गएको थियो। उक्त घटना त्यहाँको अतिवादी इस्लामिक समूह न्याशनल तौहिद जमातले गराएको श्रीलङ्कन सरकारको दाबी छ। घटनापछि उक्त समूहका गतिविधिमाथि सरकारले प्रतिबन्ध लगाइसकेको छ।
संदिग्धका पिता र भाइ मारिए
ती घटनाहरूका मुख्य संदिग्ध भनिएका जहरान हशिमका पिता र उनका दुई भाइ शुक्रवार भएको एउटा सुरक्षा कारबाहीमा मारिएको जनाइएको छ। प्रहरीका अनुसार जहरानकी आमाको पनि उक्त कारबाहीका क्रममा मृत्यु भएको छ।
प्रहरीले श्रीलङ्काको पूर्वी शहर कट्टनकुडीस्थित उक्त समूहको मुख्यालयमा छापा मार्ने क्रममा मुख्य संदिग्धका आफन्तहरू मारिएको जनाएको छ। जहरानको भने आत्मघाती हमलाका क्रममा कोलम्बोको एउटा होटल मृत्यु भइसकेको बताइको छ।
बम विस्फोटनहरू पछि देशभर प्रत्येक आइतवार चर्चहरूमा हुने प्रार्थनाहरू रद्द गरिएको थियो। यद्यपि बम हमलामा पूर्णरूपमा क्षतिग्रस्त एन्टोनी चर्चको बाहिरपट्टी आइतवार ठूलो सङ्ख्यामा मानिहरू भेला भएर प्रार्थना गरेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
