श्रीलङ्कामा शोक र सङ्कटकाल घोषणा : पूर्वसूचना लुकाएको भन्दै विवाद

बीबीसी । श्रीलङ्कामा ठूलो सङ्ख्यामा मानिसहरू हताहत हुनेगरी भएका शृङ्खलाबद्ध विस्फोटनपछि मङ्लवार शोक मनाइँदैछ।

देशका विभिन्न स्थानमा गिर्जाघर र होटेलमा आइतवार बम आक्रमण हुँदा हालसम्म ३१० जनाको मृत्यु भएको छ भने पाँच सयभन्दा बढी व्यक्ति घाइते भएका छन्। थप आक्रमण हुन नदिन तथा शङ्कास्पद व्यक्तिहरूमाथि छानबिन सुरु गर्न देशमा सङ्कटकाल घोषणा गरिएको छ।

Advertisement

हताहत भएकामध्ये कम्तीमा ३६ जना विदेशी नागरिक भएको बताइएको छ। घटनामा परेर ज्यान गुमाएका अधिकांश व्यक्तिको मङ्गलवार श्रीलङ्कामा अन्तिम संस्कार हुँदैछ। आइतवारका घटनाहरूपछि देशभरि राति कर्फ्यू लगाइयो। सुरक्षाकर्मीहरूले विभिन्न स्थानमा राखिएको विस्फोटक पदार्थ फेला पारे।

त्यसपछि थप आक्रमण नहोस् भनेर सरकारले सङ्कटकाल लगाउने निर्णय गर्‍यो। सोमवार मध्यरातदेखि सङ्कटकाल लागु भएपछि सुरक्षाकर्मीहरूले विशेष अधिकार पाएका छन्।

सङ्कटकालको अवधिमा सुरक्षा निकायका अधिकारीहरूले अदालतको आदेशबिनै शङ्कास्पद व्यक्तिहरूमाथि छानबिन गर्न सक्नेछन्। बीबीसी संवाददाता अन्वरासन इथिराजन अहिले श्रीलङ्कामा उच्च सुरक्षा सतर्कता अपनाइएको बताउँदै सर्वसाधारणमा विद्यमान त्रास हटाउनु अबको प्रमुख चुनौती रहेको बताउँछन्।

उनी भन्छन्, “मानिसहरू डराइरहेका छन्। सोमवार प्रहरीले थप विस्फोटक पदार्थ फेला पारेको थियो। उक्त विस्फोटक पदार्थ निष्क्रिय बनाउँदै गर्दा एउटा बम पड्किएको थियो। सुरक्षा अधिकारीहरूको अबको चुनौती भनेको सर्वसाधारणको आत्मबल फर्काउने हो।”

More News last news
Loading...