आजदेखि जेट एयरवेजका सबै उडान स्थगित

भारत । भारतीय वायुसेवाप्रदायक जेट एयरवेजले आफ्ना सबै उडान स्थगित गरेकाे छ। एयरवेजले बुधबार बेलुकीदेखि सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान स्थगित गरेको बिबिसीले जनाएको छ।

जेटले गत शुक्रबारै सबै अन्तर्राष्ट्रिय उडान स्थगित गरेको थियो। २५ वर्ष पुरानो एयरलाइन्स कम्पनी जेटले बुधबार राती भारतीय समय साढे दस बजे अमृतसर-मुम्बई-दिल्लीमा अन्तिम उडान गर्नेछ।

Advertisement

भारतकै ठूलोमध्येको एयरलाइन्स कम्पनी जेट एयरवेज पछिल्लो समय चरम आर्थिक संकटमा फस्दै गएको थियो। बिबिसीका अनुसार उसको संकट पछिल्ला चार महिनामा झनै बढेको थियो।

‘तत्काल हामीले आर्थिक व्यवस्थापन गर्न नसकेकाले सबै उडान स्थगित गरेका छौं। बुधबार राती जेटको अन्तिम उडान हुनेछ,’ एयरलाइन्सले विज्ञप्तिमा भनेको छ।

इन्धन किन्ने, कर्मचारी र लिजिङ कम्पनीलाई दिने तलबका निम्ति समेत बजेट नभएपछि जेट एयरवेजका जहाज ग्राउन्डेड भएका हुन्।

एक सय बढी जहाजबाट दैनिक ६ सय आन्तरिक र ३ सय ८० भन्दा बढी अन्तर्राष्ट्रिय उडान गरिरहेकाे एयरलाइन्सले अहिले १४ वटा जहाज मात्र उडाइरहेकाे थियो। भारतीय सिभिल एभिएसन नियमअनुसार अन्तर्राष्ट्रिय उडानका लागि दैनिक कम्तीमा २० जहाज उड्नुपर्छ। जेट एयरवेजसँग अहिले १४ वटा मात्र जहाज छन्।

More News last news
Loading...