काठमाडौँ । चैते दसैँ र रामनवमी पर्व शनिबार देशभर मनाईँदै छ। चैते दसैँ तथा रामनवमी पर्वका अवसरमा बिहानैदेखि देशभरका शक्तिपीठ एवं राममन्दिरमा भक्तजनको घुईँचो छ।
काठमाडौँ उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा भक्तजनको भिड लागेको छ।
यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, वागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवीलगायत शक्तिपीठमा पनि बिहानैदेखि भक्तजनको घुईँचो लागेको छ। चैत्र नवरात्रसमेत भनिने यस पर्वका अवसरमा शक्तिपीठमा गई पूजाआजा एवं दर्शन गरेमा शक्ति प्राप्त हुने धार्मिक विश्वास छ।
यस वर्ष चैत ३० गते शनिबार चैत्र शुक्ल अष्टमी र नवमी अर्थात् चैतेदशैँ एवं रामनवमी पर्व परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। अष्टमीलाई पूर्वान्ह् र नवमीलाई अपराह्नको समय लिनुपर्ने भएकाले एकैदिन दुवै पर्व परेको हो ।
केही राम मन्दिरमा भने वैशाख १ गते आइतबार नव वर्षका दिन रामनवमी पर्व मनाइने जनाइएको छ । शनिबार अपराह्न र आइतबार पूर्वाह्नमा नवमी तिथि रहेको समितिले जनाएको छ। अपराह्नमा तिथि परेका दिन रामनवमी मनाउनेले आज र पूर्वाह्नका दिन नवमी तिथि मनाउनेले आइतबार पर्व मनाउन लागेका हुन्।
राजधानीको बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपतिस्थित राममन्दिर, जनकपुरधामस्थित राममन्दिरलगायत देशभरका राम मन्दिरमा भक्तजनको भिड लागेको छ । रामनवमी पर्वका अवसरमा बिहान ५ बजेदेखि नै बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर खुला गरिएको मन्दिर व्यवस्थापन एवं पुनःनिर्माण समितिका सदस्य सचिव डा. गोविन्द टण्डनले जानकारी दिएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
