भारतमा उद्धार गरिएका १२ नेपाली महिलालाई स्वदेश ल्याउने तयारी

ललितपुर । भारतको नयाँदिल्लीमा गत शनिबार उद्धार गरिएका १२ नेपाली महिलालाई भोलि बिहीबार नेपाल ल्याउने तयारी भएको छ।

उनीहरुलाई रोजगारका लागि इराक, कुवेत र दुबई पठाइदिने भन्दै केही महिनादेखि नयाँदिल्लीको बाहिरी क्षेत्रमा बन्धक बनाएर राखिएको थियो। वैदेशिक रोजगारीमा संलग्न गिरोहले ती महिलाहरुलाई कोठा भाडामा लिएर बन्धक बनाएका थिए।

Advertisement

उद्दार गरिएकामध्ये ८ जनालाई कुतुब बिहारस्थित एउटा घरमा दुईवटा कोठामा र बाँकी चार जनालाई श्यामबिहारको एउटा कोठामा राखिएको थियो। दिल्ली महिला आयोग, दिल्ली प्रहरी, नेपाली दूतावास र केआई नेपालको संयुक्त टोलीले शनिबार राती छापामारेर उनीहरुको उद्धार गरेको थियो ।

उनीहरुलाई घरेलु कामदारका रुपमा कुवेत, इराक र दुबई पठाइदिने प्रलोभन दिइएको बताइएको छ। रोजगारका लागि उक्त देश जान उनीहरुले दलाललाई पासपोर्ट र बीसहजारदेखि दुईलाखसम्म नगद बुझाएको पाइएको केआइ नेपालका निर्देशक इन्द्रराज भट्टराईले जानकारी दिए।

उद्धार गरिएका महिलाहरु झापा, दाङ, धादिङ, मकवानपुर, रसुवा, कैलाली र प्यूठानका रहेका छन्।

More News last news
Loading...