बारा । बारा र पर्सा जिल्लामा अचानक चलेको हावाहुरीका ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ। गएराति आइतबार राति बारा र पर्सा जिल्लामा तीब्र हावाहुरी चल्दा ठूलो जनधनको क्षति भएको हो।
हावाहुरीका कारण सोमबार बिहानसम्म ३२ जनाको मृत्यु भएको छ भने ५०० बढी घाइते भएको प्रहरीले जनाएको छ। मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घाइतेहरुको वीरगञ्ज हेल्थ केयर, नारायणी अस्पताल, वीरगञ्ज नेसनल मेडिकल कलेज, गण्डक अस्पताल र न्युरो अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ। घाइतेले अस्पताल खचाखच भरिएको छ।
तीब्र हावाहुरीले बारा र पर्सा जिल्लामा ठूलो क्षति गराएको छ। धेरैका पक्की घर पनि भत्केका छन्। कतिको घरबास उठेको छ भने धेरैजसो घरबाहिर छन्।
प्रदेश २ सरकारको आपतकालीन बैठक
आइतबार साँझको भीषण हावाहुरीले बारा र पर्सामा ठूलो जनधनको क्षति पुगेपछि प्रदेश २ सरकारको आपतकालीन मन्त्रिपरिषद बैठक बोलाएको छ। सोमबार बिहान ७ बजे बैठक बोलाएको हो।
सचिवालयकाअनुसार बैठकमा घाइतेको निःशुल्क उपचार, मृतकका परिवारलाई राहत र भत्किएका संरचना पुनर्निर्माणको विषयमा निर्णय हुनेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
