काठमाडौँ । केही महिनाअघि नेपालमा विक्री भइरहेका स्वदेशी तथा विदेशी सौन्दर्य प्रसाधनका कतिपय सामग्रीको परीक्षण गर्दा तिनमा अत्यधिक मात्रामा मानवस्वास्थ्यलाई हानि गर्ने तत्त्वहरू भेटियो।
यसअघि यस्ता सामग्रीप्रति खासै वास्ता नगर्ने अनुगमनकारी सरकारी निकायका अधिकारीहरू समेत उक्त परीक्षण प्रतिवेदन हेरेर झस्किए।
तर आफैँले गरेको परीक्षणबाट मानवस्वास्थ्यलाई नै असर पार्ने तत्त्व मिसाइएको पुष्टि हुँदा पनि सरकारी निकायलाई कडा कारबाही अघि बढाउन समस्या पर्ने देखियो।
त्यसको कारण थियो, हालसम्म नेपालमा सौन्दर्य प्रसाधनका सामग्रीहरूको मापदण्ड नहुनु। त्यसपछि बल्ल उपभोग्य वस्तुको गुणस्तर मापदण्ड तय गर्ने र अनुगमन गर्ने निकायहरूले यसबारे चासो लिन पुगे।
मापदण्ड किन ?
त्यसका लागि केही चल्तीका कम्पनीहरूले उनीहरूलाई झक्झक्याउने काम गरेका थिए।
आफ्नो नाम, लोगो र ट्रेडमार्क चोरेर बजारमा सौन्दर्य प्रसाधनका सामग्री बिक्री गरिएको पाइएपछि उनीहरूले उद्योग विभागमा उजुरी दिएका थिए।
सहायताले छापा मारेर ती सामग्रीको गुणस्तर परीक्षण गराइएको थियो। गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनी भन्छन्, परीक्षणका क्रमममा सौन्दर्य सामग्रीहरूमा अत्यधिक मात्रामा सिसा, पारो, आर्सेनिक, क्रोमियम, टाइटानियमजस्ता रसायन प्रयोग गरेको भेटियो। त्यसपछि हामीलाई जनस्वास्थ्यप्रति संवेदनशील हुनै पर्नेरहेछ जस्तो लाग्यो।
उनका भनाइमा उक्त परीक्षणकै कारण विभागसहित अन्य सरकारी निकाय र सरोकारवालाले यस्ता वस्तुको मापदण्ड बनाउनु पर्ने महसुस गरे। फलस्वरूप विभागले सौन्दर्य सामग्रीसम्बन्धी विभिन्न छवटा मापदण्ड तयार पार्यो।
के छ मापदण्डमा ?
हामीले अहिले छ थरी मापदण्ड तयार पारेर सर्वसाधारणको सुझाव सङ्कलनका लागि सार्वजनिक गरेका छौँ, पुडासैनी भन्छन्, यसलाई नेपाल गुणस्तर परिषद्ले पारित गरेर मन्त्रिपरिषद्बाट अनुमोदन भएपछि लागु हुन्छ।
गुणस्तर परिषद्मा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अध्यक्ष हुन्छन्। अधिकारीहरूका अनुसार सौन्दर्य प्रशासनसम्बन्धी ती मापदण्ड चाँडै उक्त परिषद्मा पेस गरिनेछ।
पुडासैनीका अनुसार विभागले हाल छालामा लगाइने लोशन, क्रीम, लिपिस्टिकसहित विभिन्न सौन्दर्य सामग्रीका कच्चा पदार्थहरूको मापदण्ड बनाएको छ। यी मापदण्डमा सौन्दर्य सामग्रीमा कस्ताकस्ता रसायन, कच्चा पदार्थ कति मात्रामा प्रयोग गर्न पाइन्छ र के गर्न पाइँदैन भन्ने स्पष्ट व्यवस्था गरिएको छ, उनले भने, त्यसका लागि मात्रा पनि तोकिएको छ।
नेपाल गु्णस्तर तथा नापतौल विभागले सौन्दर्य सामग्रीका मापदण्डहरू तयार पारिसकेको जनाएको छ। सौन्दर्य सामग्रीको मापदण्ड बनाएका मुलुकको अभ्यास हेरेर त्यसैका आधारमा यस्तो गरिएको उनले जानकारी दिए। विकसित मुलुकमा सीधै छालामा प्रयोग गरिने यस्ता सामग्रीको गुणस्तरमा विषेश ध्यान दिइने गरिए पनि नेपालमा भने निर्वाध रूपमा त्यस्ता वस्तुहरू बिक्री भइरहेको उनी स्वीकार्छन्।
उनले यो मापदण्ड लागु भएपछि त्यसलाई समेट्नेगरी कानुनहरूमा संशोधन गर्नुपरे पनि प्रस्ताव गरिने बताए। अहिलेकै कानुनहरूले पनि कमसल उत्पादन गर्नेहरूलाई कारबाही गर्न भने रोक्दैन। तर सौन्दर्य सामग्रीका हकमा कति मात्रामा कुन रसायन वा कच्चा पदार्थ प्रयोग गरिए त्यो कमसल वा हानिकारक हुछ भन्ने स्पष्ट नहुँदा समस्या आएको उनले बताए।
मापदण्डले त्यो कमी पूरा गरेको र अब कसैले मापदण्ड मिचेमा जरिवाना, त्यस्ता सामग्री बिक्रीमा प्रतिबन्ध र जफत तथा अन्य खाले कारबाही पनि गर्न सकिने उनको तर्क छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
