मनाङ । महीनौँको निरन्तर हिमपातले मानव जीवन कष्टकर त छ नै, हिमाली जिल्लाको पहिचानका रूपमा रहेको मनाङमा चौँरीपालक किसान अहिले रुनु न हाँस्नु भएका छन्। महीनौँ दिनसम्म लगातार परेको हिमपातले चौँरी मर्न थालेपछि किसान रुनु न हाँस्नु भएका हुन्।
जिल्लामा रहेका चौँरीगोठ हिउँले पुरिएका छन् भने हिमपात खप्न नसकेर भाग्ने क्रममा चौँरी लडेर मरेका हुन् । जिल्लाभरि करीब एक हजार ५०० देखि दुई हजार सङ्ख्यामा रहेका चौँरी के-कति कस्तो अवस्थामा छन् भन्ने यकिन तथ्याङ्क भने आएको छैन । कति जिउँदै बेपत्ता छन् भने केही मरेको भेटिन थालेका छन् । जिल्लाको माथिल्लो भेगमा रहेका चौँरीको त कहाँ कस्तो अवस्थामा छ भन्ने अत्तोपत्तो छैन।
तल्लो भेगका चामे गाउँपालिका र नासों गाउँपालिकामा ४०० जति चौँरी बेपत्ता भएको र ६० भन्दा बढी मरेको चौँरीपालक सुरेश थकालीले बताउनुभयो । उहाँका अनुसार नासों गाउँपालिकामा रहेको नाचेगाउँका बलबहादुर गुरुङ र काशीराम गुरुङको गोठबाट २०० चौँरी हराएका छन्।
तिनीहरुको खोजीकार्य जारी रहेको छ। त्यस्तै तिमाङको वनमा रहेको पासाङ लामाको ३५ चौँरी तथा तिल्चेको लेकबाट ङिमाओङ्गेल पुनेल र धर्मजङ गुरुङको ६० चौँरीको अवस्था अज्ञात रहेको थकालीले बताउनुभयो।
“एउटा चौँरीको रु एक लाख २० हजारभन्दा बढी मूल्य पर्दछ, यतिका धेरै चौँरी हराउँदा या मर्दा जो कसैले मन थाम्न सक्ला र ? केही गरौँला भनी पुख्र्यौली पेशा अँगालेका हौँ, खै दैव लागेपछि कसको के लाग्दोरहेछ ?” स्थानीय धनबहादुर गुरुङले भन्नुभयो, “पाँच त आँखा अगाडि नै मरे भने अरु जिउँदैछन् कि मरिसके केही अत्तोपत्तो छैन। हिमपातले न खोज्न जान सकिएको छ न त चौँरी फर्किएर गोठमा आएका छन्।”
चौँरीपालक किसानका अनुसार हिमपातले करोडौँभन्दा बढी नोक्सान पुर्याएको छ। हराएका चौँरीको नामोनिसान भेट्टाउन सकिएको छैन। “हिउँले पुरिएर बसेका छन् कि कतै भीरमा खसे केही अत्तोपत्तो भएन”, अर्का चौँरीपालक धर्मजङ गुरुङले भन्नुभयो, “खोज्नका लागि पनि दिनदिनै जस्तो हिमपात भइरहेको छ। हिँड्डुल गर्न नै गाह्रो छ। कसरी जाने ?” उहाँका अनुसार जिउँदै भए पनि यतिका दिनसम्म भोकभोकै मरिसके होलान्।
तल्लो मनाङका ताल, नाचे, तिल्चे, ओढार र तिमाङलगायतका ठाउँमा मात्रै ४०० चौँरी हराएका तथा तथा मरेको तथ्याङ्क किसानहरुको छ। माथिल्लो भेगमा त झन् कस्तो छ थाहा छैन। हिउँ पर्न रोकिएपछि मात्र यकिन तथ्याङ्क आउने चौँरीपालक सुरेश थकालीले बताउनुभयो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
