सुर्खेत । प्रेमी भेट्न गएकी सुर्खेतकी एक किशोरी मृत अवस्थामा भेटिएकी छन्।
शुक्रबार साँझ आफ्ना प्रेमीले बोलाएपछि एकान्तमा भेट्न गएकी १६ वर्षिया किशोरी शनिबार बिहान जंगलमा मृत अवस्थामा फेला परेकी हुन्।
सिम्ता गाउँपालिका-४ नाडगाउँकी १६ वर्षिया रेखा खड्का शनिबार बिहान घरभन्दा चारसय मिटरको दुरीमा रहेको जंगलमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ।
शुक्रबार साँझ अबेरसम्म घर नआउँदा खड्कालाई परिवारले खोजी गरेका थिए। तर रातभर खोज्दा पनि नभेटाएपछि शनिबार बिहान मात्रै घरभन्दा पर लाश फेला परेको छिन्चुका प्रहरी निरीक्षक निरोज चौलागाईले जानकारी दिए।
उनका अनुसार मृतक खड्काको शव रुखमुनितिर फेला परेको हो। साथै रुखमा पासो लगाउन प्रयोग गरिएको सल फेला परेको छ। रेखाका साथीमार्फत परिवारले शुक्रबार साँझ आफ्ना प्रेमी बिमल भन्ने मोहन चन्दलाई भेट्न गएको जानकारी पाएका थिए।
तर छोरी लामो समयसम्म घर नआउँदा खोजीको क्रममा रुखमा सल झुण्डिएको र लाश भुईमा लडेको पाएपछि प्रहरी चौकीमा बलात्कार तथा हत्या गरिएको भन्दै उजुरी दर्ता गराएका छन्। प्रहरी निरीक्षक चौलागाईले मृतक खड्काको घाँटीमा सामान्य निलडाम बाहेक अन्य केही नभेटिएकोले अहिले नै बलात्कारपछि हत्या भएको हो भन्ने स्पष्ट पार्न नसकिने बताए।
परिवारको उजुरीका आधारमा रेखाका प्रेमी मोहन चन्दसहित तीन जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको बताएको छ। मृतक खड्काको शव पोस्टमार्टमका लागि पठाइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
