गाईघाट । उदयपुरको रौतामाई गाउँपालिका-२ डुम्रेमा शनिबार दिउसो भएको भीषण आगलागीबाट पाँचवटा घर जलेर नष्ट भएका छन् भने जलेर ५४ वटा चौपाय मरेका छन्।
गाई, गोरु, खसी र बाख्रा गरी ५४ वटा चौपाय जलेर मरेका हुन्। खोरमा थुनेर राखिएका खसी र बाख्रा मात्रै ४६ वटा जले। आगलागीबाट कमल कार्की, ज्ञानबहादुर कार्की, राजेन्द्र कार्की, विदुर कार्की र दीपक कार्कीका पाँचवटा घर र सातवटा गोठ जेलर ध्वस्त भएका छन् ।
उदयपुर प्रहरी प्रमुख एसपी चन्द्रदेव राईका अनुसार दिउसो १ बजे कमल कार्कीको घरबाट आगो लाग्न सुरु भएको थियो। आगोले एक घण्टाभित्रै पाँचवटा घर र सातवटा गाई, गोरु बाँध्ने गोठ जलेर ध्वस्त भएको राईले बताए।
आगोले कमलको एउटा घर, दुईवटा गोठ, विदुरको एउटा घर र एउटा गोठ, दीपकको एउटा घर र दुईवटा गोठ, राजेन्द्रको एउटा घर र एउटा गोठ तथा ज्ञानबहादुरको एउटा घर एउटा गोठ जलेर नष्ट भएको हो।
घटनामा ६६ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। हावा चलिरहेका कारण लहरै रहेका घरमा आगो चाँडो फैलिएर ठूलो क्षति पु¥याएको प्रहरीको भनाइ छ।
उदयपुरमा बिहानैदेखि हावा चलिरहेको थियो । आगोले काठबाट बनेका परालको छाना भएका घर तथा भित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, नगद, सुनचाँदी, महत्वपूर्ण कागजपत्र लगायत सबै धनमाल जलेर नष्ट भएको एसपी राईले बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
