तेन्डुलकर र शाहीदलाई पछि पार्दै नेपालका रोहितकुमारले बनाए नयाँ रेकर्ड

क्रिकेट विश्वका दुई चर्चित खेलाडी भारतका सचिन तेन्डुलकर र पाकिस्तानका शाहीद अफ्रिदीको कीर्तिमान तोड्दै नेपालका रोहित पौडेल विश्व क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडी बनेका छन्।

युवा उमेरमा नै परिपक्व खेल प्रस्तुत गरेर राष्ट्रिय टोलीको मध्यक्रममा आफ्नो स्थान मजबुत बनाइसकेका रोहित पौडेलले हिजो ५८ बलमा ५५ रन बनाइ उक्त दूर्लभ कीर्तिमान रचेका हुन्।

Advertisement

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीका अनुसार शुक्रवारको खेल खेल्न मैदानमा आउँदा पौडेलको उमेर १६ वर्ष १ सय २६ दिन पुगेको थियो।

यसअघि भारतका महान खेलाडी सचिन तेन्डुलकरले १६ वर्ष २१३ दिनमा ५९ रन बनाई सानो उमेरमा अर्धशतकको कीर्तिमान रचेका थिए। उनले पाकिस्तानविरुद्धको टेष्टमा उक्त रन जोडेका थिए।

एकदिवसीय क्रिकेटमा भने यो कीर्तिमान पाकिस्तानी अफ्रिदीको नाममा थियो। श्रीलङ्काविरुद्धको खेल खेल्दा १६ वर्ष २१७ दिन पुगेका उनले १०२ रनको शतकीय पारी खेलेका थिए।

प्रदर्शन
सातौँ नम्बारमा ब्याटिङ गर्न क्रिजमा आएका उनले धैर्यपूर्ण ब्याटिङ गर्दै टोलीलाई लामो स्कोरतर्फ दोहोर्‍याएका थिए।

आफ्नो इनिङमा सात चौका प्रहार गरेका पौडेलले ५८ बल खेलेर ५५ रन बनाएर गरेको प्रदर्शन नेपाली टोली मजबुत अवस्थामा पुग्नमा महत्वपूर्ण बन्न पुगेको थियो।

उनी ४७ औँ ओभरको खेल चलिरहेका बेला आमीर हायातको बलमा मोहम्मद शब्बीरबाट क्याच आउट हुन पुगेको थियो।

रोहित पौडेल सानो उमेरमा नै एकदिवसीय क्रिकेटमा डेब्यु गर्ने खेलाडीहरूको सूचीमा चौथो नम्बरमा पनि परेका छन्।

गतवर्ष नेदरल्याण्ड्सँग पहिलो पटक एकदिवसीय खेल्न जाँदा रोहितको उमेर १५ वर्ष ३३५ दिन मात्र थियो।

तीन एकदिवसीय शृङ्खला अन्तर्गतको निर्णायक खेल सोमवार हुनेछ। त्यसपछि टी २० को शृङ्खला शुरू हुनेछ। बीबीसीबाट

More News last news
Loading...