धनुषा । प्रदेश २ मा विवाह पञ्चमीका अवसरमा दुई दिन सार्वजनिक बिदा हुने भएको छ । प्रदेश सरकारले आज र भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकोे छ ।
विवाहपञ्चमी महोत्सव भव्य मनाउन भन्दै प्रदेश सरकारले बिदा दिएको हो । विवाहपञ्चमीमा लाखौँ भक्तजनको सहभागिता हुने अनुमान सरकारले गरेको छ । विवाहपञ्चमीमा सहभागी हुन हजारौँ भारतीय जनकपुर आएका छन् । जनकपुरधाममा जारी सप्ताहव्यापी महोत्सवको चौथो दिन आज राममन्दिरको रामवागमा भगवान् रामको तिलकोत्सव सम्पन्न भएको छ ।
यस पटक जानकी मन्दिरबाट एक हजार एक भार (कोशेली) राममन्दिरमा भगवान् रामको तिलकका लागि गएका थिए । यसैबीच भारतको रामजन्मभूमि अयोध्याबाट ३५० को सङ्ख्यामा जन्ती जनकपुरधाम आइपुगेका छन् ।
जन्तीलाई जानकी मन्दिरमा भव्य स्वागत गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाले विवाह पञ्चमीलाई भव्यरुपमा मनाउन सम्पूर्ण नगरवासीलाई आग्रह गरेको छ । नगरपालिकाद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा २५ र २६ गते जनकपुर शहरमा दीपावली मनाउन सर्वसाधरणलाई आग्रह गरिएको छ ।
उपमहानगरपालिकाभित्रको सम्पूर्ण विद्यालयको पठनपाठन बन्द गरी भव्यरुपमा दीपावली मनाउन आग्रह गरिएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
