मासु पोखिँदा ज्यान गयो, दुई पक्राउ

भक्तपुर । मदिरा र कुखुराको मासु खादै गर्दा मासु पोखिएको निहुँमा भएको विवादका कारण भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ८ मा एक युवकको हत्या भएको छ ।

महानगरीय प्रहरी परिषर भक्तपुरले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै गएको असार १५ गते राति चाँगुनारायण ८ जितपुरका ३६ वर्षीय उमेश कार्कीको हत्यामा संलग्न रहेका पाँच मध्ये पक्राउ गरी दुई जनालाई सार्वजनिक गर्दै हत्याको कारण खुलासा गरेको हो ।

Advertisement

प्रहरीले हत्यामा संलग्न रहेकामध्ये सर्लाही हरिपुर नगरपालिका ८ जगतपुर घरभई अहिले नेपाली सेनाको प्युठ दर्जामा श्री नयाँ सबुज गणमा दरबन्दी रहेका ३५ वर्षीय रामसागर चौधरी र सर्लाही हरिपुर ७ घर भएका गंगाराम चौधरीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

घटनाबारे जानकारी दिँदै परिषरका प्रमुख एवं प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले हत्या पछि फरार रहेका पाँच मध्ये दुई जना पक्राउ परेको र घटनामा संलग्न अन्य तीन जनाको खोजी भैरहेको बताउनुभयो ।

घटनापछि घर पुगेका प्यूठ रामसागर चौधरीलाई सर्लाहीमा रहेको आफ्नै घरबाट र गंगाराम चौधरीलाई काठमाडौं महानगरपालिका सानो भयाङमा रहेको उनकै कोठाबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–४ घर भई हाल चाँगुनारायण नगरपालिका–८, हनुमानचोकमा धनबहादुर गहतराजले सञ्चालन गरेको न्यू दीपक ग्रिल उद्योगमा काम गर्ने राजेन्द्र चौधरीलगायत चारजना मजदुर स्थानीयवासी दिनेश खड्काको घरमा डेरा लिई बसेका थिए । राजेन्द्रको कोठामा रामसागर र गंगाराम बेलाबेलामा आउने र सँगै ग्रिलको कामसमेत गर्ने गर्दथे ।

यही असार १५ गते पनि दिउँसो काम सकेर राति कुखुराको मासुसमेत ल्याएर रक्सी खाएर बसेको बेला राति करीब साढे आठ बजे उमेश पनि राजेन्द्रको कोठामा पुगेर मजदुरसँगै मादक पदार्थ सेवन गरेका थिए ।

त्यही क्रममा उत्पन्न सामान्य विवादमा उमेशले कुखुराको मासु पोखी दिएपछि त्यसैको रिसमा अन्धाधुन्ध रड र चक्कुले प्रहार गर्दा उमेशको मृत्यु भएको हो । पक्राउ परेका दुवै जनालाई भक्तपुर जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

More News last news
Loading...