विश्वकप खेल्ने मुस्लिम खेलाडीलाई रमदानको सकस

विश्वकप २०१८ रसियामा बिहीबारदेखि सुरु भइरहँदा मुस्लिमहरुको ठूलो पर्व रमदान समाप्त हुन लागेको छ। विश्वकपमा भाग लिइरहेकामध्ये आठ मुस्लिम बाहुल्य राष्ट्र छन्।

रमदानमा मुस्लिम समुदायका हरेक वयस्कहरुले घाम उदाएदेखि नआस्ताएसम्म ब्रत बस्नुपर्ने हुन्छ । उनीहरुले ब्रतमा पानी पनि पिउँदैनन् । त्यसैले मुस्लिम समुदायका फुटबलरहरुलाई रमदानभरी कम्ती गाह्रो छैन ।

Advertisement

सातवटा राष्ट्रका टोलीले रमदानको व्रतलाई कसरी अपनाइरहेका छन् त ?

साउदी अरेबिया

विश्वकपको पहिलो खेलमा आयोजक रसियाविरुद्ध भिड्दैछ साउदी अरेबिया । यो खेल रमदानकै क्रममा पर्छ । यसका अतिरिक्त उनीहरु बसिरहेको स्थान सेन्ट पिटसवर्गमा अहिले १८ घन्टासम्म घाम लाग्छ । यस्तो परिस्थितिमा टोलीले प्रतियोगिताभरी रमदानको व्रत स्थगित गरेको छ । यसका लागि साउदीका फुटबल अधिकारीहरुले खेलाडीलाई अनुमति प्रदान गरेका छन् । यात्रा परेको बेला रमदानको ब्रत स्थगित गर्ने आम प्रचलन पनि छ।

इरान

इरानको टिमलाई भने रमदानले खासै असर गरेको छैन। टिमका फरवार्ड रेजा घुचान्नेजाद भन्छन्, ‘रमदानले हाम्रो ट्रेनिङलाई कुनै असर गरेको छैन।’

राष्ट्रपति हसन रोउहानी फास्टिङ र ट्रेनिङबीच समानान्तर रेखा कोरिदिएका छन् । ‘महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि तपाईं जिम गएर तयारी गर्नुहुन्छ । रमदानको महिना हामी सबैका लागि जिमजस्तै हो। यसमा धैर्यता र सहनशीलताको परीक्षा हुन्छ।’

विश्वभर रमदानको फरक फरक तालिका छ। इरानी खेलाडीहरुले रमदान नसकिँदै शुक्रबार मोरक्कोसँग पहिलो म्याच खेल्नेछन्।

मोरक्को

रमदान मनाइरहेका यी सात राष्ट्रमध्ये मोरक्कोको टोली सबैभन्दा मर्कामा छ । शुक्रबार इरानविरुद्धको पहिलो महत्वपूर्ण खेल खेलिसकेपछि त्यहाँको ब्रत समाप्त हुनेछ । तर, मोरक्कोको फुटबल संघ वा फतवा जारी गर्ने कुनै धार्मिक संस्थाले पनि टिमको तयारीका लागि कुनै प्रतिक्रिया दिएका छैनन् ।

ट्यूनिसिया

ट्यूनिसियाको विश्वकप टोलीले ब्रतको नियम पालना गरिरहेको छ, तर टोलीका खेलाडीहरु पूर्ण रुपमा खुशी छैनन् । मिडफिल्डर वाहवी खाज्रीले भने, ‘रमदान एकदमै गाह्रो छ। हामीले मन लागेको बेला खान र पिउन पाउँदैनौ। यस्तो अवस्थामा तयारी गर्नु कठिन काम हो।’ पोर्चुगल र टर्कीविरुद्धको खेलमा घाम डुबिसकेको बेला गोलकिपर मोउज हसेन घाइते हुँदा केहीबेर खेल रोकिएको थियो । त्यतिबेला अन्य खेलाडीहरुले ग्लुकोज पानी खान भ्याएका थिए।

इजिप्ट

इजिप्टको फुटबल संघले रमदानका खेलाडीहरुको तयारीलाई कमभन्दा कम असर परोस् भनेर केही पोषणविदहरु भर्ती गरेको छ। यद्यपि, यसले सोचेजस्तो नतिजा भने दिएन। प्रतियोगिता पूर्वका एउटा म्याचमा टिमले पराजय व्यहारेको छ। फुटबल संघले महिनाभर फास्टिङ पालना गर्ने बताए पनि सरकारले भने खेलाडीहरुलाई रमदानमा व्रत बस्नु बाध्यकारी नरहेको जनाएको छ।

नाइजेरिया

नाइजेरियाको टिमका खेलाडीहरुमा धार्मिक विविधता भएको कारणले कोच गेर्नोट रोहरलाई अलि सजिलो छ । यद्यपि उनले मुस्लिम खेलाडीहरुलाई व्रतले पार्न सक्ने असरका बारेमा चिन्ता व्यक्त गरेका छन् । फरवार्ड अहमद मुसा र डिफेन्डर अब्दुल्लाही दुवैले रमदानको पालना गरिरहेका छन् । आइतबार हुने नाइजेरियाको पहिलो खेलमा यी दुईलाई रेस्ट दिने सोच रोहरले बनाएका छन् ।

सेनेगल

मुस्लिम बाहुल्य राष्ट्र सेनेगलको टोलीमा पनि समस्या छ । कोच एलिउ किस्से, जो आफैं पनि मुस्लिम हुन्, भन्छन्, ‘रमदानको बेला उच्च प्रतिस्पर्धात्मक फुटबल खेल्न सजिलो हुँदै ।’ यो समस्यालाई कसरी सम्बोधन गर्ने भन्ने स्पष्ट योजना उनले बताएनन्। तर, खेलाडीहरुले विश्वकपभन्दा अगाडि व्रत नगर्ने सामूहिक निर्णय लिएको बताइन्छ।

More News last news
Loading...