काठमाडौं । रुसमा बिहीवारदेखि शुरू हुने फूटबल विश्वकपलाई थप रोचक बनाउन र सटीक फैसला लिनका लागि यसपालि प्रविधिको बढी प्रयोग गरिनेछ।
पहिलोपटक भिडियो रिफरलको व्यवस्था गरिएको छ। हरेक म्याचमा ३३ वटा क्यामराले नजर राखिनेछ। ती क्यामराहरू सीधै मस्कोमा भएको केन्द्रीकृत भिडियो अपरेसन रूमसँग जोडिनेछन्।
फिफाको रेफ्री कमिटीले भिडियो रिफरलका लागि १३ जनाको भिडियो असिस्टेन्ट रेफ्री (भार) टोली बनाइएको छ । यो टोलीले सबै ६४ म्याचमा सहयोग गर्नेछ।
भार टीम मस्कोमा एक अपरेसन रूममा बसेर क्यामराहरूको पहुँचमा रहनेछ।
भारहरूले कुनै निर्णय लिँदैनन् बरू निर्णय लिनका लागि रेफ्रीलाई सहायता गर्नेछन्। अन्तिम निर्णयको अधिकार रेफ्रीको मात्र हुनेछ ।
ब्रोडकास्टरहरू, कमेन्टेटरहरू र इन्फोटेनमेन्ट टोलीले दर्शकहरूलाई रिभ्यु प्रक्रियाका बारेमा जानकारी दिनेछन् ।
हरेक म्याचमा चार भिडियो असिस्टेन्ट रेफ्री हुनेछन् । यिनीहरूलाई भार, भार १, भार २ र भार ३ भनिनेछ ।
भार प्रमुख सहयोगी हुनेछन् । यिनको काम माथिल्लो मोनिटरमा रहेको मुख्य क्यामरामा नजर राख्नु हो । उनले चारै कोणमा भएका स्प्लिट मोनिटरमा घटनाको रिभ्यु गर्नेछन् ।
भार १ रेफ्रीले मुख्य क्यामरामा ध्यान केन्द्रित गर्नेछन् । कुनै घटनालाई चेक र रिभ्यु आवश्यक भएमा यसका बारेमा उनले तुरुन्तै सूचना दिनुपर्ने हुन्छ ।
भार २ अफसाइड स्टेसनमा सहायक रेफ्रीको भूमिकामा रहनेछन् । उनले अफसाइडमा कुनै पनि सम्भावित स्थितिको पूर्वानुमान लगाउनेछन् जसले गर्दा चेक र रिभ्यु प्रक्रियामा तीव्रता दिन सकिन्छ ।
भार ३ ले टेलिभिजन कार्यक्रमबाट प्राप्त प्रतिक्रियामाथि नजर राख्नेछ । त्यसैको आधारमा उनले भारलाई घटनाको समीक्षा गर्न सहायता गर्नेछन् । साथै अफसाइड स्टेसनमा भार २ र भारबीच थप राम्रो संवाद स्थापना गर्न पनि उनले
सुनिश्चित गर्नेछन् ।
भार टोलीका लागि रेफ्रीहरूको छनोटको मानदण्ड मुख्य रूपमा उनीहरूको अनुभवका आधारलाई लिइएको छ । आफ्नो देशमा भएका म्याच र कन्फेडेरेसन म्याचमा भिडियो अधिकारीका रूपमा कस्तो प्रदर्शन गरेको छ भन्ने आधारमा भार छानिनेछ । अनि फिफासम्बद्ध म्याच र प्रिपेरोटरी सेमिनारमा उनले भार ज्ञान र क्षमताको कति उपयोग गरे भन्ने विषयलाई पनि आधार बनाइयो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
