एजेन्सी । विमानमा रहेका एक व्यक्तिबाट आएको दुर्गन्धका कारण मे २९ तारिखमा स्पेन जाँदै गरेको नेदरल्याण्डको ट्रान्साभिया एयरलाइन्सको विमानले पोर्चुगलमा आपतकालीन ल्याण्डिङ गर्नुपर्यो ।
उक्त पुरुष यात्रुबाट कथित रुपमा यति धेरै गन्ध आइरहेको थियो कि विमानमा भएका अन्य केही यात्री बेहोस भए र केहीले बान्ता गर्न थाले । विमानले नेदरल्याण्डको स्किपल एयरपोर्टबाट उडान भरेको थियो ।
एक बेल्जियन यात्रु पिट भान हाउटलाई उद्धृत गर्दै फक्स न्यूजले बतायो, ‘ती व्यक्तिबाट यस्तो दुर्गन्ध आइरहेको थियो कि जुन हप्तौंसम्म ननुहाएका कारण आउने गर्छ । विमानभरी दुर्गन्ध फैलिएका कारण केही यात्रु बिरामी भए, कतिले बान्ता गरे । ’
फक्स न्यूजका अनुसार विमानका चालक दलले ती व्यक्तिलाई बाथरुममा बन्द गर्ने कोसिस गरेपछि पाइलटले विमानको बाटो बदलेका थिए ।
विमानलाई पोर्चुगलको फारोमा अवतरण गराइयो र ती व्यक्तिलाई बोइंग ७३७ बाट निकालेर एक बसमा स्वास्थ्यकर्मीसँग पठाइयो ।
ट्रान्साभिया एयरलाइन्सले केही मेडिकल कारण देखाउँदै विमानले आकस्मिक अवतरण गर्नुपरेको स्विकारेको छ । यद्यपी, ती व्यक्तिलाई केही स्वास्थ्य समस्या थियो/थिएन भन्ने बारे केही स्पष्ट जानकारी सार्वजनिक छैन।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
