सिड्नी । भिक्टोरियास्थित बालारात करी रेष्टुरेन्टमा कार्यरत एक नेपाली सेफ आफ्नो ग्राहकको हत्यामा दोषी ठहर भएका छन् ।
५१ वर्षीय सेफ हरिप्रसाद ढकाल अष्ट्रेलियामा अवैध रुपमा बसोबास गरिरहेको पनि खुलेको छ । जेल सजाय भुक्तान गरेपछि उनलाई नेपाल फिर्ता पठाइनेछ।
उनीमाथि पाकिस्तानी मूलका आईटी क्षेत्रका कामदार अब्दुल्लाह सिद्दिकीलाई २०१६ अक्टोबर २५ मा चक्कु प्रहार गरेर हत्या गरेको आरोप लागेको थियो, जसमा उनी दोषी पनि ठहर भए ।
ढकालका वकिल थियो अलेक्जान्डरका अनुसार उनले २००० मा नेपाल छाडेका थिए । ‘आफ्नो पत्नी र दुई बच्चालाई जोगाउन नेपाल छोड्नुपरेको थियो । यो समय ढकालको लागि धेरै नै सङ्कटपूर्ण थियो’ अलेक्जान्डरले भने ।
उनले अष्ट्रेलियामा प्रोटेक्सन भिसाका लागि आवेदन पनि दिएका थिए तर, त्यो अस्वीकृत भयो । २००० र २०१६ को बीचमा ढकाल न्यू साउथ वेल्स, क्विन्सल्याण्ड र भिक्टोरियामा बस्ने गर्थे ।
अलेक्जान्डरले भने, ‘हत्याको रात ढकाललाई सिद्दिकीले पछाडिबाट आक्रमण गर्न लागेका थिए र ढकालले आत्मरक्षाको लागि चक्कु प्रहार गर्दा उनको मृत्यु भयो ।’
ढकालको क्रियाकलाप पूर्वयोजनाअनुसार नभएको, उनले प्रहरीसँग सहकार्य गरेको, परिणामहरुको सामना गरेको र पछुतो व्यक्त गरेको अलेक्जान्डरले बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
