आईपीएल क्वालिफायर : चेन्नई र हैदराबादबीच टक्कर !

इन्डियन प्रिमियर लिग (आईपीएल)को यस संस्करणको पहिलो क्वालिफायरमा चेन्नई सुपर किङ्स र सनराइजर्स हैदराबाद आमनेसामने हुँदैछन् ।

चेन्नई आईपीएलको ९ सिजन अस्तित्वमा छ । दुई वर्षको प्रतिबन्धपछि पुनर्गठन गरिएको चेन्नई टिममा भेट्रान खेलाडीहरुको बाहुल्य छ। यीनै अनुभवी खेलाडीको साथमा उसले आईपीएलको क्वालिफायरमा स्थान बनाएको छ।

Advertisement

सन् २०११ पछि पहिलो पटक आईपीएल जित्ने अभियानमा रहेको चेन्नईले आज हैदराबादलाई हराएमा उपाधिबाट एक कदम टाढा हुनेछ। चेन्नई आफूले खेलेका ९ सिजनमध्ये ७ पटक फाइनलमा पुगेको छ भने तीन पटक उपाधि जितेको छ।

यता डेभिड वार्नर प्रतिबन्धमा परेपछि हैदराबादको प्रदर्शन आईपीएलमा खस्कने अपेक्षा धेरैको थियो। तर, उसले पीडालाई शक्तिमा बदल्दै शानदार रुपमा आईपीएलको लिग चरणको विजेता बन्यो र क्वालिफायर्सका लागि छनोट भयो।

हैदराबाद र चेन्नई दुवैले लिग चरणमा ९ खेल जिते भने ५ खेलमा पराजय व्यहोरे । दुवैको समान १८ अंक भए पनि रनरेटका आधारमा हैदराबाद पहिलो नम्बरमा पुगेको हो।

हैदराबादका लागि चिन्ताको विषय के हो भने लिग चरणमा उसले पराजय व्यहोरेका ५ मध्ये दुई खेल चेन्नईविरुद्ध थियो । होम र अवे दुवैमा हैदराबाट चेन्नईसामू निरीह बनेको थियो । हैदराबादमा भएको पहिलो खेलमा चेन्नई चार रनले विजयी भएको थियो । त्यस्तै अर्को खेल पुणेमा भएको थियो । त्यसमा चेन्नईले हैदराबादमाथि ८ विकेटको जित हात पारेको थियो ।

चेन्नईको बलियो पक्ष भनेकै उसको सन्तुलित टिम हो। चेन्नईका बलरदेखि ब्याट्सम्यानसम्मले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । साथै चेन्नईको फिल्डिङ पनि प्रशंसा गर्न लायक रहेको छ।

सनराइजर्ससामु रायुडूको चुनौती
ब्याट्सम्यान अम्बाती रायुडू यो सिजनमा चेन्नईका सफल ब्याट्सम्यान रहेका छन् । उनले यो सिजनमा एउटा सेन्चुरी पनि हानेका छन्।

उनले १४ खेलमा ५८६ रन बनाएका छन्। रायुडू ओपनिङदेखि मध्यक्रम हुँदै पछिल्लो क्रममा पनि राम्रो ब्याटिङ गर्न सक्ने सामथ्र्य राख्दछन्। यो सिजनमा रायुडूदेखि कप्तान महेन्द्रसिंह धोनी, सुरेश रैनालगायतका ब्याट्म्यानले उत्कृष्ट प्रदर्शन गरेका छन्।

त्यस्तै चेन्नईका बलरहरु शार्दुल ठाकुर, दीपक चहर, लुंगी एन्गिडीले पनि राम्रो प्रदर्शन गरिरहेका छन् ।

बलिङमा बलियो हैदराबाद ब्याटिङमा कमजोर
हैदराबादको बलियो पक्ष भनेकै बलिङ हो । उसले कम स्कोरको टार्गेट खडा गरेर पनि जित हात पारेको छ । भुवनेश्वर कुमार, राशिद खान, शाकिब अल हसन, सिद्धार्थ कौल तथा सन्दीप शर्माले ब्याट्सम्यानको आक्रमणलाई रोक्ने काम गरेका छन् ।

तर ब्याटिङको कुरा गर्दा कप्तान केन विलियम्सनबाहेक अरु ब्याट्सम्यानले रन बनाउन सकेका छैनन् । पछिल्ला केही खेलमा शिखर धवनले रन बनाएका छन्।

त्यस्तै मध्यक्रममा मनीष पाण्डेले आफ्नो भूमिका निर्वाह गर्दै टिमलाई जिताउन सफल भएका छन् । युसूफ पठानको भने यो सिजनमा खासै ब्याट चलेको छैन।

चेन्नई र हैदराबादको विजेता प्रतियोगिताको फाइनलमा पुग्नेछ भने पराजित हुने टोली कोलकाता र राजस्थान रोयल्सबीच हुने इलिमिनेटर खेलको विजेतासँग फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्नेछ । त्यसैले आजको खेलमा पराजित हुने टोलीलाई फाइनल प्रवेशका लागि अर्को मौका हुनेछ।

More News last news
Loading...