काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले सोमबार संसदमा प्रस्तु गरेको आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रमप्रति असन्तुष्टि जनाएको छ।
नीति तथा कार्यक्रम परम्परावादी भएको तथा कम्युनिष्टहरुले सर्वसत्तावाद लाद्न ल्याएको भन्दै काँग्रेसले असन्तुष्टि जनाएको हो । काँग्रेसले आज संसद सचिवालयमा नीति तथा कार्यक्रममाथि संशोधन समेत दर्ता गराएको छ।
संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकले संशोधन दर्ता गराउने निर्णय गरेको हो। संशोधन दर्ता गर्नुअघि काँग्रेसले संसदीय दलमा विज्ञहरुसँग सरकारको नीति तथा कार्यक्रमको समिक्षा गरेको थियो।
पूर्व अर्थमन्त्री एवं काँग्रेस नेता डा.रामशरण महत, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व कार्यकारी अधिकृत एवं काँग्रेस नेता डा. गोविन्द पोखरेल र सांसद एवं उद्योगपति विनोद चौधरीले नीति तथा कार्यक्रमका विषयमा समिक्षा प्रस्तुत गरेका थिए।
उनीहरुले नीति तथा कार्यक्रमबारे सकारात्मक सुझाव नदिएको काँग्रेस सांसद संञ्जय गौतमले जानकारी दिए । सरकारले ल्याएको नीति तथा कार्यक्रम कम्युनिष्टहरुको चुनावी घोषणापत्र जस्तो भएको नेताहरुले धारणा राखेका थिए । देश र जनताको हितका लागि नयाँ कुरा केही पनि नआएको बैठकमा नेताहरुले टिप्पणी गरेका थिए ।
सभापति शेरबहादुर देउवाले पनि सरकारको नीति तथा कार्यक्रममाथि तीब्र असन्तुष्टि जनाएको बताइएको छ । उनले यसमा सुधार्नु पर्ने पक्ष धेरै रहेको बताएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
