बाँके : अघिल्ला दिनमा जिल्ला प्रशासन कार्यालयमा कर्मचारीहरु १० बजे कार्यालयमा पुग्नासाथ आफ्नाे कार्यकक्षमा पुग्न हतार हुन्थ्यो ।
तर मंगलबार भने १० बजे सबैजना कर्मचारी कार्यकक्ष बाहिर जम्मा भए । कार्यालयमा राष्ट्रिय गान बज्यो भने कर्मचारी र सेवाग्राहीहरु उभिएर सम्मान प्रकट गरे । जिल्ला प्रशासन कार्यालय बाँकेले मङ्गलबारदेखि कार्यालयमा राष्ट्रिय गान बजाएर काम सुरु गर्न लागेको छ ।
नेपालका ७७ जिल्ला प्रशासन कार्यालयमध्ये राष्ट्रिय गान बजाएर काम सुरु गर्ने बाँके पहिलो जिल्ला भएको प्रशासकीय अधिकृत खगेन्द्र पौडेलले जानकारी
दिनुभयो । पहिलो दिन कार्यालय समय सुरु हुनासाथ राष्ट्रिय गानको सम्मानका लागि प्रमुख जिल्ला अधिकारी रमेश केसीलगायतका सबै कर्मचारीहरु कार्यकक्ष बाहिर निस्केर सम्मान प्रकट गरेका थिए । प्रमुख जिल्ला अधिकारी केसीले अभियानको शुभारम्भ गर्नुभयो ।
यसैगरी जिल्ला प्रशासन कार्यालयमा दैनिक काम लिएर पुगेका सेवाग्राहीहरुले पनि राष्ट्रिय गान बजाएर दैनिकी सुरु गर्न लागेकोमा राम्रो सुरुवात भएको प्रतिक्रिया दिएका छन् । ‘जेठ १ गतेदेखि दैनिक रुपमा राष्ट्रिय गानमा सरिक हुने अभियानको सुरूवात गरेका छौँ’, प्रशासकीय अधिकृत पौडेलले भन्नुभयो, ‘जिल्ला प्रशासन कार्यालय बाँकेमा कार्यालय समय सुरू हुने समय ठिक १० बजे राष्ट्र, जातजाति, भाषा, धर्म, संस्कृतिको सम्मान र राष्ट्रिय प्रेमको भावनाले ओतप्रोत नेपालको राष्ट्रिय गानमा सबै राष्ट्रसेवक कर्मचारी र कार्यालय कम्पाउण्डभित्र रहेका सवै नागिरकहरू सहभागी हुनुहुनेछ ।
साउन्ड सिस्टम प्रयोग गरी राष्ट्रिय गीत बजाइने र सबैजना राष्ट्रिय गानमा सहभागी भएर मात्रै कार्यकक्षमा जाने ब्यवसथा गरिएको छ । कार्यालय समय सुरु हुनुभन्दा अगाडि राष्ट्रिय गानमा सहभागी हुने प्रचलन विश्वका अन्य धेरै देशमा रहेको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत पौडेलले जानकारी दिनुभयो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
