गोरखा : गोरखाको वारपाकमा बनाउन लागिएको भूकम्प स्मृति पार्क निर्माण सम्बन्धी विवादको टुंगो लागेको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्थानान्तरण गर्नुपर्ने बस्तीका बासिन्दालाई तत्काल नहटाउने गरी विवादको टुंगो लगाइएको हो । २०७२ साल वैशाख १२ गतेको भूकम्पको केन्द्रबिन्दू वारपाकमा भूकम्प स्मृति स्तम्भसँगै स्मृति पार्क बनाउन लागिएको छ ।
पार्ककै एक भागमा भूकम्पले भत्किएका घरहरुलाई जस्ताको तस्तै राखेर लाइभ म्यूजियम अर्थात जीवित संग्रहालय बनाउन खोजिए पनि केही घरधुरीले सरकारले स्थानान्तरण गर्न खोजेको ठाउँमा सर्न नमान्दा पार्क निर्माणको प्रारम्भीक काम अन्यौलमा परेको थियो ।
संग्रहालय बनाउने भनिएको जग्गाका २७ घरपरिवार सरकारले तोकेको जग्गामा सर्न राजि भए पनि ५ घरधुरीले भने पुरानो ठाउँ छोड्न मानेका थिएनन् । अब ३२ घर दलित परिवारको ८ रोपनी ५ आना जग्गालाई बाहिरै राखेर भूकम्प स्मृति पार्क निर्माण हुने भएको छ ।
यसअघि जीवन्त संग्रहालय समेत बनाउने गरी पार्कको डिजाइन गरिएकोमा अब त्यसलाई हटाएर नयाँ डिजाइन बनाइएको छ । भूकम्पले भत्किएका घरलाई जस्ताको तस्तै राखेर बनाउने भनिएको जीवन्त संग्रहालय भने अब नबन्ने निश्चित भएको पुनर्निर्माण प्राधिकरण अन्तर्गतको भवन तर्फको जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख रोशन श्रेष्ठले बताउनुभयो ।
‘पहिले लाइभ म्यूजियम बनाउने गरी डिजाइन गरेका थियौं, अब त्यो पार्टलाई हटाएर नयाँ डिजाइन बनाइएको छ’, उहाँले भन्नुभयो, ‘ठेक्का सम्झौता पनि सोही अनुसार गरिएको छ ।’ सरकारले पार्कभित्र पर्ने ३२ घरधुरीलाई वारपाककै सरकारी जग्गामा स्थानान्तरण गर्ने तयारी गरेपनि ५ घरधुरीले पुरानो ठाउँबाट सर्न आनाकानी गर्दै आएका थिए ।
दलित बस्तीलाई त्यहाँबाट नसार्ने र उनीहरुले ओगटेको जग्गालाई पार्कभित्र नपार्ने निर्णय गरिएको पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य डाक्टर हरेराम पराजुलीले बताउनुभयो । विवादको टुंगो लागेसँगै भूकम्प स्मृति पार्क निर्माणको काम पनि तीब्र रुपमा अघि बढेको छ । पार्कको जमिन सम्याउने, कम्पाउण्ड वाल लगाउने, मूल सडकबाट पार्कसम्म पुग्ने सडक निर्माण लगायतका काम धमाधम भैरहेको जिल्ला आयोजना कार्यान्वयन इकाईकी इञ्जिनियर सुनिता श्रेष्ठले बताउनुभयो ।
पार्क निर्माणका लागि स्वच्छन्द एण्ड होम निर्माण सेवासँग १३ करोड ६ लाख ३४ हजार रुपैयाँमा सम्झौता भएको छ । दुई वर्षभित्र निर्माण सक्ने गरि ठेकेदार कम्पनीसँग गएको मंसीर १४ गते सम्झौता भएको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले वारपाक भ्रमणका बेला घोषणा गरेअनुसार भूकम्प स्मृति पार्क निर्माणको प्रक्रिया अघि बढेको हो । पार्कमा बगैंचा, भूकम्पले पुर्याएको क्षतिको विवरण झल्कने संरचनाहरु निर्माण गरिनेछ ।
पार्कको मुख्य आकर्षणका रुपमा भने भूकम्प स्मृति स्तम्भ रहने छ । २०७२ वैशाख १२ को भूकम्प र त्यसपछिका ठूला पराकम्पले बढी क्षति पुर्याएका १४ जिल्लाका मृतकहरुको सम्झनामा छुट्टाछुट्टै १४ वटा स्तम्भ निर्माण गरिने छ भने स्तम्भमा जिल्लाहरुको नाम पनि लेखिनेछ ।
हरेक स्तम्भमा ती जिल्लाका मृतकहरुको नामावली राखिने छ । यस्तै अर्को छुट्टै स्तम्भमा ग्लोब अर्थात पृथ्वीको आकृति बनाएर भूकम्प गएको मिति र समय उल्लेख गर्ने गरी डिजाइन तयार पारिएको इकाईका प्रमुख श्रेष्ठले बताउनुभयो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
