बाँके : बाँकेको नरैनापुर गाउँपालिकामा बुधबार भएको आगलागीमा १६ घर जलेर नष्ट भएका छन् ।
नरैनापुर गाउँपालिका वडा नम्बर –६, जमुनी गाउँमा बालबालिकाले आगो खेलाउने क्रममा आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट १३ वटा घर पूर्णरुपमा र ३ वटा घर आंशिक रुपमा जलेको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी सहायक निरीक्षक राम अवतार चौधरीले जानकारी दिनुभयो ।
बच्चाबच्चीले आगो खेलाउने क्रममा भुसमा सल्किएको आगोबाट आगलागी भएको प्रहरीले जनाएको छ । स्थानीय पेशकार यादव र बुद्ध धोबीको घरबाट सुरु भएको आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन, गरगहना सबै जलेर नष्ट भएको स्थानीयले बताएका छन् ।
स्थानीय बर्षाती धोबीले आफ्नो घरमा राखेको २ लाख भारतीय रुपैयाँ समेत जलेको बताउनुभयो । आगलागीमा परी एउटा राँगा मरेको र एउटा घाइते भएको छ । स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रयासमा दुई घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।
यसैबीच नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले आगलागीबाट ठूलो क्षति भएको बताउँदै क्षतिको विवरण संकलन गर्ने काम भइरहेको जानकारी दिनुभयो ।
अग्नि पीडितहरुलाई राहतस्वरुप बिहीबार ५० किलो चामल, ५ किलो दाल, १ किलो नुन र १ लिटर तेलका साथै प्रति परिवार २ हजार रुपैयाँ वितरण गरिने अध्यक्ष शाहले जानकारी दिनुभयो ।
फुसले छाएका र नजिक नजिक घर भएका कारणले गर्मी याममा नरैनापुर क्षेत्रमा हरेक वर्ष आगलागी हुने गरेको छ । जीर्ण सडकका कारण सदरमुकाम नेपालगञ्जबाट समयमै दमकल पुग्न नसक्दा क्षति बढी हुने गरेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
