काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला एकाएक बरिष्ठ नेता रामचन्द्र पौडेलसँग रुष्ट बनेका छन् ।
उनले नेता पौडेललाई आवेगमा नआउन समेत चेतावनी दिएका छन् ।
डा. कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलको सहमतिमै पदाधिकारी मनोनयन गर्न आफूले सोमबार बोलाइएको निर्वा्चित केन्द्रीय सदस्यहरूको बैठक शुक्रबारसम्मका लागि स्थगित गर्न सभापति देउवासँग आग्रह गरेको पनि स्पष्ट पारेका छन् ।
पछिल्लो समय नेता कोइराला पार्टी सभापति देउवाप्रति अलिक बढि नै नरम बनेका छन् । तर, आफ्नै गुटका नेता पौडेलप्रति आक्रमक रुपमा प्रस्तुत भएका छन् । कतिसम्म भने कोइरालाले पौडेललाई सार्वजनिक रुपमै आलोचना गर्न थालेका छन् ।
कांग्रेस निकट उच्च स्रोतले दिएको जानकारी अनुसार कोइराला नेता पौडेलसँग दुरी बढाएर देउवासँग नै नजिक हुन थालेका छन् ।
आज (सोमबार) बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा पनि महामन्त्री कोइरालाले पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा बहुमतीय प्रक्रियाबाट निर्णय लिएको भन्ने वरिष्ठ नेता पौडेलको अभिव्यक्तिको ठाडै खण्डन गरे।
पार्टी केन्द्रीय कार्यसमिति बैठक सर्वसम्मतिले सम्पन्न भए पनि वरिष्ठ नेता पौडेलले उक्त निर्णयबारेमा विरोध जनाउनु भनेको आवेगमा आएर प्रतिक्रिया दिएको महामन्त्री कोइरालाको गम्भिर आरोप छ।
आगामी शुक्रबार बस्ने पार्टीको केन्द्रीय निर्वाचित सदस्यहरूको बैठकले पदाधिकारी मनोनयन गर्ने दाबी गर्दै भने,”शुक्रबारको बैठकमा रामचन्द्रजीको पक्षलाई ल्याउने जिम्मवारी मेरै हो, म प्रयास गर्छु।” उनले पार्टीलाई एकताबद्ध बनाएर अघि लैजानुको विकल्प नरहेको बताउँदै आएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
