केपी सरकार फासिस्ट बनेको भन्दै नेकपा आक्रोशित, २२ गते नेपाल बन्द घोषणा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केपी ओली नेतृत्वको सरकार चरम फासिवादी बन्दै गएको भन्दै विरोधस्वरुप यही वैशाख २२ गते नेपाल बन्दको घोषणा गरेको छ ।

नेकपाका महासचिव विप्लवले शुक्रबार एक प्रेस वक्तव्य जारी गर्दै सरकारले आफ्नो पार्टीका शान्तिपूर्ण राजनीतिक आन्दोलानमा सहभागी भइरहेका बेलामा दर्जनौं संख्यामा नेता कार्यकर्तालाई गिरफ्तार र झुठा मुद्दा लगाएर फासिस्ट हर्कत जारी राखेकोमा आक्रोश पोखेका छन्।

Advertisement

१२ जना नेताकार्यकर्तालाई फासिस्ट केपी सरकारले बेपत्ता पारेको समेत जारी वक्तव्यमा उल्लेख गरेका छन् ।

सरकारले नागरिकले स्वतन्त्र रुपमा विचार राख्ने, सभा जुलुस तथा राजनीतिक गतिविधि गर्न पाउने अधिकारमाथि बन्देज लगाएको र राष्ट्रघात, जनघात, भ्रष्टाचारी, कालोबजारीको विरोध गर्दै जनतालाई संगठित बनाउने काम भेला, सम्मेलन, अन्तक्र्रिया गरिरहेका बेला बाटो र कार्यक्रमस्थलबाट सरकारले प्रहरीले लगाएर अपहरण शैलीमा गिरफ्तार गर्ने र बेपत्ता पार्ने काम गरेको भन्दै सरकारको रवैयाको महासचिव विप्लवले घोर भत्सर्ना गरेका छन् । सरकारको फासिस्ट रवैया र दमन नरोकिए प्रतिरोध गर्ने चेतावनी विज्ञप्तिमार्फत दिएका छन् ।

नेकपा निकट युवा संगठनका अध्यक्ष बाबुराम राई ‘विवस’ महिला संगठनका महासचिव धिरेन्द्र उपाध्याय ‘भृकुटी’, पार्टीका केन्द्रीय सदस्य किरण राई, विद्यार्थी संगठनका महासचिव प्रकाश शाहीलगायत जिल्लाका प्रमुखहरुलाई बिनाकारण गिरफ्तार गरी झुठा मुद्दा लगाएको भन्दै नेकपाले प्रतिरोध गर्ने चेतावनी दिएको हो । गिरफ्तार सबैलाई बिनासर्त तत्काल रिहा गर्न पनि जोडदार माग गरिएको छ ।

सरकारले दुई दिनअघिमा ललितपुर जिल्ला सेक्रेटरी विपिन शर्मा, मकवानपुर सेक्रेटरी रामबहादुर घलानसहित दर्जन नेता कार्यकर्तालाई विभिन्न आरोपमा गिरफ्तार गरी हिरासत राखिराखेको छ । नेकपाका नेता कार्यकर्तामाथि देशैभर सरकारले दमन, धरपकड र यातनालाई तीव्रता दिइँदै आएको छ।

यसैगरी सोही विज्ञप्तिमा यही बुधबार मात्र कञ्चनपुरको बिचफाँटामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाली भूमि मिचेर अतिक्रमणकारी हर्कत जारी राख्दा समेत केपी सरकारले मौन बसेको भन्दै महासचिव विप्लवले आपत्ति जनाएका छन् ।

घोषित कार्यक्रम अनुसार बैशाख १९ गते देशैभर विरोध प्रदर्शन, २० गते कोण सभाहरु, २१ गते साँझ मशाल जुलुस र २२ गते नेपाल बन्द गर्ने जनाइएको छ । बन्द कार्यक्रमलाई साथ दिन न्यायप्रेमी, देशभक्त, वामपन्थी र प्रगतिशील पक्षहरुसँग अपिल गरिएको छ। OnlineDabali

More News last news
Loading...