प्रधानमन्त्री ओलीले मन्त्रीहरुको हालिमुहालीमा यसरी लगाए ‘ब्रेक’

काठमाडौं । अब मन्त्रीले समूह र विज्ञता नमिले पनि आफूलाई मन लागे जुनसुकै निकायको सचिव टिपेर लैजाने र मन नपरे सरुवा गरिहाल्ने परम्परा बन्द हुने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई जानकारी नदिइ एकैपटक तीन सचिवको सरुवा गरेपछि सचिव सरुवामा मन्त्रीको हालिमुहालीमा ब्रेक लाग्ने स्थिति देखिएको हो।

Advertisement

गत साताको बिहीबार प्रधानमन्त्री ओलीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसँग मात्र परामर्श गरी विभिन्न निकायका तीस सचिवको सरुवा गरेका थिए । यसको जानकारी अधिकांश मन्त्रीले शुक्रबार बिहानमात्र पाएका थिए, जुन दिन प्रधानमन्त्री ओली भारत भ्रमणमा जाँदै थिए ।

माओवादी केन्द्रका मन्त्रीले त प्रधानमन्त्रीले थाहै नदिई सचिव सरुवा गरेको भन्दै असन्तुष्टि जनाउन पार्टी अध्यक्ष पुष्पकमल दाहालको ध्यानाकर्षणसमेत गराए । तर ओलीले सचिव सरुवा हेरफेर नहुने र विपक्षमा दौडधुपमा लाग्ने कर्मचारीलाई कारवाही गर्ने चेतावनीसमेत दिएका छन् ।

उनले प्रधानमन्त्री भएलगत्तै पहिलोपटक सचिव र मन्त्रीहरुलाई डाकेर अब मन्त्रीहरुलाई आफूखुसी सचिव टिपेर लैजान नदिने र मन्त्रीको घरदैलो चहारेको भरमा सचिवको सरुवा–बढुवा नहुने बताएका थिए । प्रधानमन्त्रीको पछिल्लो कदमबाट नेताको घरमा धाउने र उनीहरुको स्वार्थ पुरा गरेकै भरमा महत्वपूर्ण निकायमा सरुवा–बढुवा हात पार्ने कर्मचारीलाई अप्ठेरो परेको छ भने दक्ष कर्मचारीलाई हौसला बढेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री पण्डितले अब मन्त्रीले सचिव रोजेर लैजाने परिपाटी अन्त्य हुने बताए । उनले विषयगत हैसियतमा आफूले सचिवहरु प्रस्ताव गरेको र प्रधानमन्त्रीले सोही अनुसार निर्णय गरेको बताए। – नागरिक दैनिकबाट

More News last news
Loading...