विजय नेपाल
पोखरा, २८ चैत । पश्चिमाञ्चल होटल संघको आयोजनामा नयाँ वर्ष १५ औं फेवा नव वर्ष महोत्सव बुधबारदेखि सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले महोत्सव उद्घाटन गरे।
मन्त्री अधिकारीले सरकारले केही महिना भित्रमा एक सय वटा पर्यटकीय गन्तव्य पहिचान गरी तिनको प्रचार गर्ने तयारी गरेको जानकारी दिए । पोखरा र वरपरको क्षेत्रमा दर्जनौं होमस्टे विकास गर्ने र स्थानीय उत्पादन खुवाउने होमस्टेलाई मात्र सरकारले प्रोत्साहन र सहयोग गर्ने उनले बताए ।

पर्यटकीय लेकसाइडलाई राति २ बजेसम्म र काठमाडौंको ठमेललाई ३ बजेसम्म खोल्ने पहल गर्ने पनि उनले सो अवसरमा सुनाए ।
फेवातालको संरक्षणका लागि छिटै कार्ययोजना सार्वजनिक गरिने भन्दै उनले पोखरामा बन्दै गरेको नयाँ विमानस्थलको कामलाई तीव्रता प्रदान गरिने प्रतिबद्धता जनाए । कूल ग्राहस्थ उत्पादनमा पर्यटनको योगदान साडे सात बाट २५ प्रतिशत पुर्याइने पनि उनले बताए । पोखरा विमानस्थल बाहेक नेपालका पाँच वटा विमानस्थल छनोट गरी राति पनि सेवा दिने अवस्था सिर्जना गर्ने तयारी भएको र एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको सुधारको काम अघि बढि सकेको पनि मन्त्री अधिकारीले जानकारी दिए ।
प्रदेश ४ का पर्यटन मन्त्री विकास लम्सालले प्रदेश ४ र खास गरी पोखरा आउने पर्यटकको तथ्यांक राख्ने काम थालिने र प्रवद्र्धनको कामलाई अगाडि बढाइने सुनाए । पोखरामा अन्तर्राष्ट्रि स्तरको सेमिनार हल बनाइने आश्वासन पनि उनले दिए । कोरलादेखि सुस्तासम्म स्तरीय सडक निर्माण गर्ने योजना पनि मन्त्री लम्सालले सुनाए ।

कार्यक्रममा प्रदेश ४ का सभासद कृष्ण थापा, अर्का सभासद राजिव पहारी, कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, वडा महिला समन्वय समिति बैदामकी अध्यक्ष विष्णु केसी र आयोजक संघका प्रथम उपाध्यक्ष लक्ष्मण सुवेदीले भनाइ राखेका थिए ।
अंग्रेजी नयाँ वर्षमा जस्तो नेपाली नयाँ वर्षमा पनि आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनका लागि डेढ दशकदेखि यहाँ नियमित सो महोत्सव गर्दैआएको छ ।
कोमागाने पार्कमा २ बैशाखसम्म चल्ने सो महोत्सवमा खानाका १०, व्यापारिक ३० गरी ४० स्टल राखिएका छन् । महोत्सव उद्घाटन अघि हल्लनचोकदेखि बाजागाजा र झाँकी सहित निस्केको ¥याली विभिन्न भाग परिक्रमा गरी कोमागानेपार्क पुगेको थियो ।
संघका अध्यक्ष एवं महोत्सव संयोजक विकल तुलाचनले नेपालका मुख्य सहरमा अंग्रेजी नयाँ वर्ष धूमधामसाथ मनाउने गरिएकोमा नेपाली वर्ष पनि उत्तिकै महत्वका साथ मनाउँदै संस्कृतिको रक्षाका लागि महोत्सवलाई निरन्तरता दिइएको बताए ।

महोत्सवमा महोत्सवको आकर्षणमा पर्यटन, संस्कृति र खाना रहेको छ । महोत्सवमा ५६ लाख आम्दानी र ४८ लाख ९५ हजार रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ ।
आन्तरिक पाहुना लक्षित गरी संघले विभिन्न छुट समेत दिएको छ । जसमा विभिन्न ४ वटा प्याकेज सार्वजनिक गरिएको छ । जसमा ३ हजारदेखि २१ हजार रुपैयाँ बीचमा घुमघाम, शैक्षिक भ्रमण र मधुमासका २ वटा प्याकेज रहेका छन् ।

महोत्सवमा तारे होटलदेखि पोखरा क्षेत्रका स्थानीय खानाका परिकार, प्रत्येक दिन सांस्कृतिक कार्यक्रम, लोकदोहोरी, पप कन्सर्ट, बालउद्यान तथा मनोरञ्जनात्मक कार्यक्रम, पर्यटक दौड, डुंगा दौड, नृत्य, रत्यौली र भजन चुड्का प्रतियोगिता हुनेछ।



![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
