एमाले माथी कांग्रेस नेता शेखर कोईरालाको खरो टिप्पणी : तेईस बर्षपछि बल्ल एमालेको बुद्धि फिर्यो

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले काँग्रेस नेतृत्वको सरकारले २३ बर्ष अगाडी गर्न खोजेको काम एमाले नेतृत्वको सरकारले अहिले गर्न लागेको बताउनु भएको छ।

अरुण तेस्रो जलविद्युत् परियोजनाको सुरुवात तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाले २०५१ सालमा गर्न लाग्दा एमालेले नै विरोध गरेकाले रोकिएकोमा अहिले एमाले नै सुरु गराउन लागेको उहाँको भनाई छ।

Advertisement

परियोजनाको सहयोगी संस्था विश्व बैंकलाई एमालेका तत्कालिन महासचिव माधवकुमार नेपाल र बर्तमान अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताले परियोजनाको विरोध गर्दै चेतावनीपत्र पठाएपछि परियोजना रोकिएको उहाँले स्मरण गर्नुभयो। त्यही परियोजना प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणका क्रममा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्ने तयारी गरिएको छ।

अहिले गर्न लागिएको काम तेइस बर्ष अगाडी गर्न दिएको भए धेरै हिसावले देश अगाडी बढ्ने र जनताले विगतका लोडसेडिङ कुनैपनि भोग्न नपर्ने नेता कोईरालाको दावी छ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा उहाँले भन्नुभयो, “तेईस बर्ष अगाडी अरुण तेस्रो सुरु गर्न पाएको भए १५ बर्ष अगाडी सकिन्थ्यो, तर त्यतिबेला विरोध गर्नेले अहिले उद्घाटन गर्न लाग्नु भएको छ, ढिलै भएपनि बुद्धि फिर्नु सकारात्मक नै हो।”

त्यतिबेला परियोजनाको घोर विरोध गरेका एमाले निकटका वातावरणविद्हरु अहिले कहाँ गए भन्दै पटक पटक प्रश्न गर्नुभयो । त्यतिबेला विरोध गर्ने एमालेका नेता र वातावरणविद्हरुले नै नेपाललाई अहिले सम्म अध्यारोमा राखेको नेता कोईरालाले आरोप लगाउनुभयो।

प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले बहुप्रतीक्षित अरुण तेस्रो जलविद्युत् परियोजनाको संयुक्त उद्घाटन गर्ने तय भएको छ। प्रधानमन्त्री ओलीको राजकीय भारत भ्रमणका क्रममा चैत २४ गते नयाँदिल्लीको हैदराबाद हाउसमा दुवै प्रधानमन्त्रीले आयोजनाको संयुक्त उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

झण्डै १ खर्ब १६ अर्ब रुपैयाँ लागतमा बन्न लागेको परियोजनाबाट उत्पादित बिजुलीको २१ दशमलव ९ प्रतिशत नेपालले सित्तैमा पाउनेछ भने २५ वर्षपछि नेपाललाई परियोजना हस्तान्तरण गरिनेछ।

More News last news
Loading...