काँग्रेस जनप्रतिनिधिद्वारा पोखरा महानगरको दोस्रो नगरसभा अवरोध

विजय नेपाल

पोखरा । पोखरा लेखनाथ महानगरपालिकामा कर्मचारी भर्ना प्रक्रियामा अनियमितता भएको भन्दै काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिले नाराबाजी गर्दै नगरसभा संचालनमा अवरोध पारेका छन् ।

Advertisement

मंगलबार मेयर मानबहादुर जिसीले नगरसभा संचालन गरे लगत्तै काँग्रेसका वडा अध्यक्ष रामराज लामिछाने अनियमिता छानबिन नभएसम्म सभा अगाडि बढ्न नदिने जानकारी गराएका थिए ।

सहमतिका लागि भन्दै मेयर जिसीले काँग्रेस र एमालेबाट प्रतिनिधित्व गर्ने २–२ जना जनप्रतिनिधि राखेर १५ मिनेटको समय दिए पनि उक्त अवधिमा सहमति जुट्न नसकेपछि सभा सुचारु हुन नसकेको हो । लामिछाने महानगर वडा ९ बाट निर्वाचित वडा अध्यक्ष हुन् ।

केही दिनअघि महानगरले इञ्जिनिय, सवइञ्जिनियर र अनमि पदको लागि विज्ञापन आहवान गरी दरखास्त मागेको थियो ।

जसमा परीक्षामा सेटिङ मिलाएर आफ्नो पक्षमा कर्मचारीको पदपूर्ति गरेको भन्दै काँग्रेस समर्थित जनप्रतिनिधि आक्रोशित बनेका हुन् । उनीहरुले कर्मचारी पदपूर्ति प्रक्रिया खारेज नभएसम्म सभा अघि बढ्न नदिने चेतावनी दिएका छन्।

नगरसभामा १ सय ६७ जना जनप्रतिनिधि मध्ये काँग्रेसबाट ४७ जना प्रतिनिधि छन् ।

पोखरा सभागृहमा गत सातादेखि महानगरको सभा सुरु भएको हो । महानगरको सभाले पारित गर्ने विधेयकबारे नगरसभाका सभासद्ले आवश्यक अध्ययन गर्ने भन्दै समय माग गरेकोमा केही दिन स्थगितपछि मंगलबारमात्र पुनः सुचारु हुने कार्यक्रम थियो।

मंगलबारको कार्यसूचीमा महानगरको कृषि ऐन २०७४, कृषि बजार प्रवद्र्धन ऐन, कृषि नीति, पशु नीति, उपप्रमुखसँग महिला कार्यक्रम निर्देशिका र सहकारी ऐनबारे छलफल गरिने बताइएको थियो ।

More News last news
Loading...