काठमाडौं । जिम्बावेमा सञ्चालन भइरहेको एकदिवसीय विश्वकप क्रिकेट छनोटमा पपुवा न्युगिनीसँग विजयी भएपछि नेपालको ३० वर्षे क्रिकेट इतिहासमा नयाँ ढोका खुलेको छ।
अब नेपालले चार वर्षसम्म एकदिवसीय र लिस्ट ए मान्यता पाएका राष्ट्रसँग खेल्न पाउनेछ। चार वर्षमा नेपालले विश्व क्रिकेट लिग, एसिया कप र इन्टरकन्टिनेन्टल कपजस्ता ठूलो प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछ। यसबीच आइसिसी एकदिवसीय वरीयतामा नेपाल सूचीकृत हुनेछ।
तर, एकदिवसीय मान्यता पाउँदैमा नेपालले अस्ट्रेलिया, भारत, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, पाकिस्तान र न्युजिल्यान्डजस्ता राष्ट्रविरुद्ध खेल्न पाउने होइन। किनकि, उनीहरू पूर्ण रूपमा टेस्ट मान्यताप्राप्त टिम हुन्। नेपाल एसोसिएटका तर्पmबाट एकदिवसीयमा मात्र प्रवेश गरेको छ।
त्यसैले, अस्ट्रेलिया तथा भारतजस्ता टेस्ट मान्यताप्राप्त टिमसँग एकदिवसीय क्रिकेट खेल्न पनि आइसिसी र सम्बन्धित बोर्डको स्वीकृति पाउनुपर्छ। एसिया कपमा भने भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानजस्ता टेस्ट मान्यताप्राप्त टोलीसँग सीधै प्रतिस्पर्धा हुनेछ।
एकदिवसीय मान्यताप्राप्त राष्ट्रका रूपमा नेपालले आइसिसीबाट अब प्रतिवर्ष ७ देखि ८ करोड रुपैयाँ प्राप्त गर्छ। यो रकम क्रिकेटका स्तरीय प्रशिक्षक, विदेशमा अभ्यास भ्रमण, खेलाडीको भत्ता, सुविधा तथा नियमित प्रशिक्षणमा खर्च गर्नुपर्छ। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
