वासिङ्गटन डिसी । गैर आवसीय नेपाली सङ्घ राष्ट्रिय समन्वय समिति अमेरिकाले खेलकुद समिति विस्तार गरेको छ।
नेपाललाई खेलकुदको माध्यमबाट विश्वमा चिनाउन सफल भएका र खेलकुद विकासमा विशेष योगदान पु-याएका हाल अमेरिकाका विभिन्न राज्यहरुमा बसोबास गरिरहेका अनुभवी प्रशिक्षक तथा खेलाडीहरु समेटिएको सल्लाहकार तथा सदस्यहरुलाई खेलकुद समितिमा नियुक्त गरिएको संयोजक चन्द्र लामाले जानकारी दिए।
संयोजक चन्द्र लामा नेपाल ओलम्पिक कमिटिका सदस्य तथा उसु खेलको प्रशिक्षक थिए । सन् २००४ देखि अमेरिकाको भर्जिनियामा बसोबास गरेका लामाले अमेरिका बसाइको शुरु देखि नै अमेरिकाको नेपाली समुदायमा खेलकुद विकासका लागि निरन्तर योगदान दिंदै आएका छन्।
एएनए, एएनएस लगायत नेपाली संस्थाहरुको खेलकुद संयोजक रहि आएका लामाले गत वर्षको आहा रारा गोल्डकपमा भागलिन ‘स्पोर्टस एक्सचेञ्ज प्रोगाम’ अन्तर्गत एएनएले नेपाल पठाएको खेलाडी टिमको संयोजन समेत गरेका थिए।
लामाको खेलकुद क्षेत्र प्रतिको योगदानको कदर गर्दै एनआरएन अमेरिकाले हालै उनलाई खेलकुद समितिको संयोजकको जिम्मेवारी यस अगाडि नै प्रदान गरिसकेको छ।
संयोजक लामाले विस्तार गरेको खेलकुद समितिमा थानेश्वर राई लगायत १२ जनाको सल्लाहकार समिति रहेको छ भने संयोजक स्वयं सहित १७ जना सदस्यहरु रहेका छन्।
लामाका अनुसार सितोरियो कराँतेका ‘भिष्म पितामह’को नामले चिनिने थानेश्वर राई, ओलम्पिक कमिटि नेपालका पूर्व सदस्य तथा राष्ट्रिय टिमका भलिबल खेलाडी सुनिल चौधरी, ओलम्पिक खेलाडी विधान लामा, एनआरएन आइसीसी खेलकुद संयोजक ते-क्वान-डोका ओलम्पिक खेलाडी नारायण गुरुङ्ग, मनमोहन वाइवा र बक्सिङ्ग खेलाडी मनोज श्रेष्ठलाई सल्लाहकार समितिमा नियुक्त गरिएको छ।
यसै गरि सल्लाहकार समितिमा नियुक्त गरिएका अन्य सदस्यहरुमा दुई पटक दक्षिण एशियाली पदक विजेता उमेश प्रधान (फुटबल), एथलेटिक्सका वरिष्ठ प्रशिक्षक नर बहादुर दाहाल, ते-क्वान-डोका पूर्व मुख्य प्रशिक्षक सन्तोष प्रधान, नेपाल करातेँ महासङ्घका पूर्व महासचिव तथा सितो–रियो–कराँतेका वरिष्ठ प्रशिक्षक आनन्दु लामा, ह्याण्ड बलका बरिष्ठ प्रशिक्षक प्रकाश ठकुरी तथा ते–क्वान–डोका खेलाडी विपिन श्रेष्ठ रहेका छन्।
खेलकुद समितिका सदस्यहरुमा संयोजक चन्द्र लामा, देवी पनेरु (एथलेटिक्स), उसुका राष्ट्रिय प्रशिक्षक असुराज श्रेष्ठ, साफ खेलकुदमा पदक विजेताहरु बिना खड्का लामा (उसु), निलम खड्का (सुटिङ्ग), वसन्त थापा (फुटबल), कमल क्षेत्री (ते–क्वान–डो), मकेन्द्र सिंह (कराते)तथा सन्दिप महत (टेबल टेनिस) रहेका छन्।
यसै गरि सोहि समितिका अन्य सदस्यहरुमा उसुका पूर्व राष्ट्रिय प्रशिक्षक छेमंग तामाङ्ग, भलिवलका पूर्व राष्ट्रिय खेलाडी गंगा बस्नेत, जुडोका पूर्व राष्ट्रिय खेलाडीहरु विनोद सैंजु तथा राजेश कर्माचार्य, व्याडमिन्टनका पूर्व राष्ट्रिय खेलाडी बलराम थापा, सफ्ट टेनिसका पूर्व राष्ट्रिय खेलाडी किरन खड्का तथा फुटबल खेलाडीहरु विश्व सुवेदी (एनएसीसी स्पोर्टस) र निरज कार्की (मिसिगन स्पोर्टस) रहेका छन्।
खेलकुदका धेरै भन्दा धेरै क्षेत्रका विशिष्ट खेलाडी तथा प्रशिक्षकहरु समेटिएको यस समितिको मुख्य लक्ष्यको बारेमा संयोजक लामाले भने –‘हाम्रो मुख्य लक्ष्य भनेको हाम्रो जन्मभूमि नेपालको लागि अमेरिकामा रहेका नेपाली युवा पुस्ताहरुबाट सकेसम्म धेरै भन्दा धेरै र राम्रा खेलाडीहरु उत्पादन गर्नु हुनेछ।
एनआरएनले विश्व भरिबाट नै खेलकुदको क्षेत्रमा नेपाललाई सहयोग गर्ने सिलसिलामा राम्रा खेलाडी तयार पार्नु हुनेछ जसले भोलिका दिनमा नेपाललाई खेल क्षेत्र मार्फत विश्व मानचित्रमा अझ धेरै चिनाउन सक्नेछन्।’
‘नेपाली खेलकुद क्षेत्रमा विशेष योगदान गर्ने प्रशिक्षक तथा खेलाडीहरुलाई यस समितिमा समेट्न सक्नु समितिको लागि महत्वपूर्ण कुरा रहेको छ। अब उहाँहरुको सल्लाह र सदस्यहरुको सहयोगमा एनआरएन अमेरिकाको खेलकुद समितिले नेपाली समुदायले महशुस गर्ने प्रकारका कामहरु गर्नेछ।
सल्लाहकार समितिमा बसेर सहयोग गर्न स्विकार गर्नुहुने सम्पूर्ण सल्लाहकार समितिका सदस्यहरु र समितिका सदस्यमा रहेर काम गर्न स्विकार गर्नुहुने सबै सदस्यहरुमा हार्दिक धन्यवाद दिन चाहन्छु।
सबैले मिलेर हाम्रो समुदायका विशेष गरि युवा पुस्ताहरुलाई खेलकुद क्षेत्रमा उत्साहित र प्रेरित गर्नसक्ने काम गर्न समुदायका सबैको साथ र सहयोगको समेत अपेक्षा गर्दछु ।’ संयोजक लामाले बताए।
नेपाली खेलकूद क्षेत्रमा विशेष योगदान पु-याएका र हाल अमेरिकामा बसोबास गर्ने वरिष्ठ खेलाडी तथा प्रशिक्षकहरु रहेको सल्लाकार समिति तथा सदस्यहरु समेटिएको यस खेलकुद समितिबाट अमेरिकाको नेपाली समुदायले खेलकुद क्षेत्रको विकासको विशेष अपेक्षा गरेको पाइएको छ। – डिसीनेपालको सहयोगमा
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
