साउदीको जेलमा रहेका प्रेम राईलाई बचाउन उठ्यो ४५ लाख

काठमाडौं । साउदी अरबको जेलमा रहेका इलामका प्रेम राईलाई रिहा गर्न सञ्चालन गरिएको रकम संकलन गर्ने अभियानमा हालसम्म करिब ४५ लाख रूपैयाँ उठेको छ।

प्रेम राई बचाउ अभियान मूल समिति स्थापना गरी सञ्चालन गरिएको अभियानमा हालसम्म उक्त रकम संकलन भएको हो।

Advertisement

उक्त समितिका संयोजक चन्द्र कुलुङले हालसम्म समितिको खातामा ७/८ लाख रूपैयाँ संकलन भएको भए तापनि विभिन्न देशमा रहेका अभियन्ताहरूले संकलन गरेको रकम करिब ४५ लाख पुगेको जानकारी दिएका छन् । उनको रिहाइका लागि खाडीका मुलुकहरू, मलेसिया, हङकङ, बेलायतलगायत मुलुकहरूबाट रकम संकलन भइरहेको छ।

संयोजक कुलुङका अनुसार करिब ५० लाख रकम संकलन भएपछि उनलाई रिहाइको प्रक्रिया समितिले अगाडी बढाउने छ । ‘करिब आधा रकम संकलन गरी पठाएपछि उनको रिहाइको लागि सम्बन्धित पक्षसँग अनुरोध गरिनेछ ।’ उनले भने, ‘त्यसपछि पनि रिहाई गराउन सकिएन भने संकलनको क्रमलाई पुनः अगाडि बढाइने छ।’

वैदेशिक रोजगारका लागि २०१२ मा साउदी गएका इलामको माइनगरपालिका–४ का प्रेम राई २०१६ मार्चमा जेल चलान भएका हुन्।

काम गर्ने कम्पनीको सामान चोरी भएपछि राईलाई नै दोषी ठहर गर्दै अदालतले जेल र ५० कोर्रासहितको सजाय सुनाएको थियो । कम्पनीले उनलाई आफ्नो सामानको बिगो भराइ पाऊँ भनि निवेदन दिएको थियो ।कम्पनीको निवेदनअनुसार प्राइभेट राइटअन्तर्गत अदालतले फेरि तीन लाख १० हजार रियाल (झन्डै ९५ लाख रूपैयाँ) बुझाउनु पर्ने फैसला गरिदिएको थियो ।

कुलुङले अनिस खालिङ प्रतिष्ठानमा रहेका रकमसमेत राईको रिहाइका लागि माग गरिएको भए तापनि उक्त प्रतिष्ठानले निकै कम मात्रै रकम उपलब्ध गराएको बताएका छन्।

युएईको जेलमा रहँदा मत्सपोखरी संखुवासभाका अनिस खालिङ राईको उद्दारका लागि विश्वभरिबाट संकलन भएको करिब तीन करोड १७ लाख रूपैयाँ संकलन भए तापनि त्यसको सदुपयोग हुन नसकेको गुनासो बढेको छ । खालिङको रिहाइका लागि रकम संकलन भए पनि सो रकम प्रयोग नगरिकन नै उनको रिहाइ भएको थियो।

उक्त रकम अनिसका काका मूल समितिका तत्कालीन अध्यक्ष नारद राई र अनिसकी श्रीमतीको नाममा ग्लोबल आइएमई बैंकको चाबहिल शाखामा रहेको बताइएको छ । प्रेम राईको रिहाइका लागि सो प्रतिष्ठानबाट रकम माग गर्दा १ लाख रूपैयाँमात्र दिएपछि आफूहरले अस्विकार गरेको कुलुङले बताए।

रोजगारीका लागि विदेश गएका नेपाली कामदारहरू जेलमा पर्ने क्रम बढ्दो छ । कैयौँ कामदारहरू ब्लड मनीको अभावमा जेलमा रहेका छन्।

प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) का अध्यक्ष कुलप्रसाद कार्कीले पछिल्लो समय ‘ब्लड मनी’ आवश्यक परेका मुद्दाहरू लिएर धेरै व्यक्तिहरू आफ्नो संस्था समक्ष आउने गरेको बताएका छन् ।

More News last news
Loading...