काठमाडौँ । आइसीसी विश्वकप छनौट अन्तर्गत नेपालले अफगानिस्तानविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ ।
नेपाली टिममा आजको खेलमा दुई परिवर्तन गरिएको छ । ओपनर दिलिपनाथ र शरद भेषवाकरको ठाउमा अनिलकुमार शाह र करण केसीलाई खेलाइएको छ ।
प्रतियोगिता तीन खेलमा पराजित भएको अफगानिस्तान र दुई खेलमा पराजित भएको नेपाल दुवैका लागि यो खेल ‘गर या मर’ को रहेको छ । यो खेलमा पराजित हुने टिमको विश्वकप छनौट यात्रा समाप्त हुने छ भने जित्ने टिमको सुपरसिक्स छनौटको आशा बाँकी हुने छ ।
नेपाल भर्सेस अफगानिस्तान इतिहास :
नेपाल र अफगानिस्तानबीच अहिलेसम्म ६ पटक खेल भएको छ । जसमा अफगानिस्तान हावी हुदै आएको छ । पछिल्ला ६ भेटमा नेपालले एक खेलमा जित हासिल गरेको छ भने ५ खेलमा अफगानिस्तान विजयी भएको छ ।
नेपालले २००४ मा मलेसियामा भएको एसीसी ट्रफीमा अफगानिस्तानलाई पराजित गरेको थियो । त्यसपछि अफगानिस्तानले नेपाललाई विश्व क्रिकेट डिभिजन लिग ५, २००८, एसीसी ट्रफी इलाइट, २००८, एसीसी ट्रफी इलाइट २०१०, एसीसी एमर्जीङ कप २०१३ र एसीसी प्रिमियर लिग २०१४ मा गरि ५ पटक पराजित गरेको छ ।
विश्वकप छनौट खेलमा प्रमुख खेलाडीको प्रदर्शन :
तीन खेलमा पराजित भएको अफगानिस्तानका प्रमुख खेलाडी मानिने रशिद खान आफ्नो उत्कृष्ट प्रदर्शन गर्न संघर्ष गरिरहेको देखिएको छ । उनले खेलेका तीन खेलमा केबल ४ विकेट लिएका छन् । त्यस्तै अफगानिस्तानका प्रमुख ब्याट्सम्यान मोहमद नाबीले उत्कृष्ट ब्याटिंग गर्दै तीन खेलमा १८१ रन बनाएर प्रतियोगितामा धेरै रन बनाउने खेलाडीको सुचिमा दोस्रो स्थानमा रहेका छन् । नाबीले स्कटल्याण्डविरुद्ध ९२, जिम्बाबेविरुद्ध ५१ र हङकङविरुद्ध ३८ रन बनाएका छन् ।
त्यस्तै अफगानिस्तानका अर्का ब्याट्सम्यान नजबुल्लाह जर्दानले पनि विश्वकप छनौटमा राम्रो ब्याटिंग गरेका छन् । उनले तीन खेलमा १०३ रन बनाएका छन् । जसमा एक अर्धशतक सामेल छ । अफगानिस्तानका अर्का खेलाडी रामशत शाहले तीन खेलमा ८७ रन बनाएका छन् ।
पछिल्ला तीन खेलमा अफगानिस्तानका १६ बर्षिय बलर मुजीबउर रहमानले प्रतियोगिता मै अहिलेसम्म सर्वाधिक ८ विकेट लिएका छन् । अफगानिस्तानका लागि रहमान निर्णायक खेलाडी हुन् सक्दछन् ।
त्यस्तै नेपालले खेलेका दुई खेलमा नेपाली खेलाडीको प्रदर्शन हेर्ने हो भने कप्तान पारस खड्काले दुई खेलमा १०३ रन बनाएका छन् जसमा स्कटल्याण्डविरुद्धको ६३ र जिम्बाबेविरुद्ध ४० रन बनाएका थिए । त्यस्तै आरिफ शेख र शरद भेषवाकरले ५२-५२ रन बनाएका छन् । बलिङतर्फ नेपालबाट बसन्त रेग्मी र सन्दीप लामिछानेले ४(४ विकेट लिएका छन्।
आज खेल्ने नेपाली टिम :
पारस खड्काको कप्तानीमा रहेको नेपाली टिममा ज्ञानेन्द्र मल्ल उपकप्तान छन् । अन्य खेलाडीमा आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, अनिलकुमार साह, रोहितकुमार पौडेल, ललित नारायण राजवंशी, बसन्त रेग्मी, सोमपाल कामी, करण केसी छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
