को हुन् विद्यादेवी भण्डारीविरुद्ध राष्ट्रपतिमा उम्मेदवारी दिएकी लक्ष्मी राई ?

काठमाडौँ । नेपाली काँग्रेसकी नेत्री लक्ष्मी राईले राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएकी छिन्।

यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि भोजपुरका शहीद दिवानसिंह राईकी सुपुत्री लक्ष्मी राईले आज उम्मेदवारी मनोनयन दर्ता गराएकी हुन्। उनका प्रस्तावकमा सांसद चित्रलेखा यादव, मानबहादुर विक, पार्वता डिसी चौधरी, देवेन्द्रराज कँडेल र सुरेन्द्रराज पाण्डे तथा समर्थकमा सांसद मेखलाल श्रेष्ठ, शिवचन्द्र चौधरी, सरिता प्रसाईं, सुजाता परियार र राधा घले रहेका छन्।

Advertisement

उम्मेदवारी मनोनयनपछि सञ्चारकर्मीसँगै कुरा गर्दै नेत्री राईले आफ्नो उम्मेदवारी विकास र समृद्धिका लागि भएको बताइन्। राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन नयाँबानेश्वर परिसरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

काँग्रेसको आजै बसेको केन्द्रीय कार्यसमिति बैठकले उनलाई पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो। नेत्री राईको उम्मेदवारी मनोनयनका क्रममा पार्टीका तर्फबाट महामन्त्री डा शशाङ्क कोइराला, नेता डा मीनेन्द्र रिजाललगायत उपस्थित थिए।

सो अवसरमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री डा कोइरालाले राष्ट्रपति विद्यादेवी भण्डारीले काँग्रेस नेतृत्वको सरकारले राष्ट्रियसभामा मनोनयनका लागि सिफारिस गरेका नाम अनुमोदन नगरेर स्वतन्त्र भूमिका निर्वाह नगरेको आरोप लगाए।

महामन्त्री डा कोइरालाले राष्ट्रपति भण्डारीको भूमिका स्वतन्त्रभन्दा पनि पार्टी विशेषतिर ढल्किएको देखिएकाले उनीविरुद्ध आफ्नो पार्टीले उम्मेदवारी दिएको स्पष्ट पारे।

नेपालको संविधानअनुसार संघीय संसद्को गठनपछि राष्ट्रपति, उपराष्ट्रपति,सभामुख र उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन हुन लागेको छ। राष्ट्रपतिको निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम छ। नेकपा (एमाले) ले मंगलबार वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।

More News last news
Loading...